काठमाडौं । क्षमता बढे पनि पर्यटक आगमन बढ्न नसकेको भन्दै होटल व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । होटल उद्योगको पछिल्लो अवस्थाबारे आयोजित अन्तर्क्रियामा सहभागी व्यवसायीले क्षमता अनुसार पाहुना नबढेको बताए ।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले नेपालमा होटल संख्या र पर्यटक आगमन अनुपातमा ठूलो असन्तुलन रहेको बताए ।
उनले नेपालमा वार्षिक ३०/३५ लाख पर्यटक राख्न सक्ने क्षमता भए पनि आगमन संख्या करिब १०/१५ लाखमै सीमित रहँदा होटल क्षेत्रको भविष्य जोखिममा रहेको बताए ।
हवाई भाडा महँगो हुनु, होटलको सेवा मूल्यमा गिरावट आउनु र डिसेम्बर–जनवरी महिनामा बुकिङ घट्नुले होटल व्यवसाय थप समस्यामा परेको विषयमा अध्यक्ष शाहले चिन्ता व्यक्त गरे ।
त्यसैगरी पर्यटन विभागका महानिर्देशक डा. नरायणप्रसाद रेग्मीले सरकारी र निजी क्षेत्रको सहकार्यबाट समस्या समाधानको दिशा पहिल्याउन सकिने बताए । उनले होटलहरूमा एमआरपी सम्बन्धी समस्या रहेको बताए ।
पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले होटल निरीक्षण, गुणस्तर मापदण्ड र अधिकतम खुद्रा मूल्यको मुद्दा, निगरानी, नियमन मापदण्ड र व्यवसाय संरक्षण, म्युजिक रोयल्टी कलेक्सन लगायत मुद्दामा समस्या रहेको बताए ।
ढकालले पर्यटन नीतिमा दीर्घकालीन योजनाभन्दा छोटो अवधि लक्षित योजनामा ध्यान दिनुपर्ने सुझाव दिए । उनले भैरहवा विमानस्थलको सही उपयोग र आन्तरिक सडक तथा हवाई कनेक्टिभिटी सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।
पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेले वार्षिक पर्यटक लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिँदै पर्यटन दशक मनाइने बताए । पर्यटक बसाइ अवधि (लेन्थ अफ स्टे) बढाउन नयाँ होटल थप्नेभन्दा सेवा र अनुभव सुधार्न केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले मुलुकलाई पर्यटकमैत्री बनाउन विमानस्थल तथा नाकाका अध्यागमन चुस्तदुरुस्त बनाउने बताए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको मार्केटिङ र डिजिटल प्रविधि अभावले नेपालमा पर्यटकको अनुभव कमजोर बनिरहेको बताए । उनले ई–भिसा र ई–पेमेन्ट प्रणाली तत्काल लागु गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा होटल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, कानुनी जटिलता हटाउने, विमानस्थल र सडक सञ्जाल चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिइयो ।
होटल व्यवसायीले सरकारबाट स्पष्ट नीतिगत निर्देशिका माग गरेका छन् । तारे होटलको मापदण्ड पुनरावलोकन, इन्धन र विद्युत् सहुलियत र होमस्टे व्यवस्थापनमा सुधारका लागि सुझाव प्रस्तुत गरिएको छ ।