काठमाडौं। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले दर्जनौं व्यवसायीलाई आफ्नो होटल (धुलिखेल माउन्टेन रिसोर्ट) किनिदिन आग्रह गरेको लामो समय भइसकेको थियो। सार्वजनिक कार्यक्रम तथा सीमित व्यक्तिबीच हुने जमघटमा उनले होटल बिक्रीका लागि राखेको र किनेर सहयोग गरिदिन आग्रह गरे पनि त्यसले अन्तिम रुप पाएको थिएन।
उनले स्वास्थ्य क्षेत्रमा दरिलो उपस्थिति जनाएका व्यवसायी आरएस (रामशरण) भण्डारीदेखि उद्योगपति शशिकान्त अग्रवालसम्मलाई होटल किन्न अनुरोध गरेका थिए। यतिसम्म कि भण्डारी भट्टको होटल लिन इच्छुकसमेत भइसकेका थिए। तर, उनीसँगको डिल भंग भएपछि भट्ट स्वामित्वको रिसोर्ट अन्ततः साइमेक्स इंकसमक्ष पुगेको छ।
स्रोतका अनुसार भट्टले साइमेक्स इंकलाई ७० करोड रुपैयाँमा होटल बेचेका हुन्। २०७१ मा भट्टले ४० करोड रुपैयाँमा रिसोर्ट किनेका थिए। १० वर्षपछि बेच्दा उनले थप ३० करोड रुपैयाँ नाफा लिएर होटल बिक्री गरेको स्रोत बताउँछ।
लामो समयदेखि बिक्री गर्ने सोच बनाएर हिँडिरहेका भट्टले केही महिनाअघि मात्रै साइमेक्स इंकसँग डिल फाइनल गरेका हुन्। अहिले त्यसको व्यवस्थापन साइमेक्सले लिइसकेको छ। यद्यपि, आधिकारिक रुपमा रिसोर्ट खरिद गरिएको जानकारी साइमेक्सले बाहिर ल्याएको छैन।
भट्टले नेपालमा सञ्चालन गरेका हरेकजसो व्यवसायको अवस्था सन्तोषजनक छैन। एकपछि अर्को व्यवसायमा असफल हुँदै गएका भट्टले होटल बेच्न डेढ वर्षदेखि ग्राहक खोज्दै हिँडेका थिए। नेपालमा बाहेक जापानमा उनको व्यवसाय संकट पर्दै गएपछि नयाँ व्यावसायिक गन्तव्य दुबईलाई बनाइरहेका छन्।
४१ वर्षअघि स्थापना भएको धुलिखेल माउन्टेन रिसोर्टले २२० रोपनी क्षेत्रफल ओगटेको छ। रिसोर्टमा ४२ कोठा र तीन सुविधायुक्त हल छन्। ठूलो क्षेत्रफलमा फैलिएको र मनमोहक दृश्य देखिने भएकाले पनि धेरैको आँखा रिसोर्टमा परेको थियो।
जापानमा रिसोर्टसहित विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका भट्टको बेल्जियममा तीनवटा तारे स्तरका होटल सञ्चालनमा थिए। भट्टले बेल्जियममा साझेदारीमा होटल सञ्चालन गरे पनि पछि साझेदारसँग व्यवस्थापन समस्या उत्पन्न भएको थियो।
नेपालमा भने उनले टिबिआई ग्रुपमार्फत व्यवसाय विस्तार गरेका छन। सुरुमा आक्रामक हिसाबमा लगानी विस्तार गरेका भट्टको कारोबार आर्थिक दैनिक, बिबी एयरवेज, बिबी ट्रस्ट, बिबी होल्डिंग्स, युनाइटेड ब्रुअरीलगायत कम्पनी छन्।
तीमध्ये युनाइटेड ब्रुअरी बिक्री गरिसकेका छन् भने बिबी एयरवेज लामो समयदेखि बन्द छ। बिबी होल्डिंग्सकै स्वामित्वमा दोलखामा तामाकोसी–३ आयोजनाको लाइसेन्ससमेत भट्टसँग छ। अहिलेसम्म उक्त आयोजना निर्माण हुने/नहुने टुंगो लागिसकेको छैन।