काठमाडौं। कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन्। सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइ र ग्लोबल आइएमई बैंकको सह–अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन्।
आयोजना निर्माणका लागि ६ बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्नेछन्। काठमाडौंमा आयोजित ऋण लगानी सम्झौतामा आयोजना प्रवर्द्धक अन्नपूर्ण पावर कम्पनी र बैंकबीच हस्ताक्षर भएको छ।
सम्झौतामा कम्पनीका सीईओ एवं वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने र बैंकका तर्फबाट सिटिजन्सका डेपुटी सीईओ राजेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरे।
८ अर्ब १२ करोड लागत अनुमानको आयोजना निर्माणका लागि सिटिजन्स बैंकले १ अर्ब ५० करोड, ग्लोबल आइएमईले १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब, लक्ष्मी सनराइजले ८५ करोड, नेपाल एसबिआईले ६० करोड र माछापुच्छ्रेले ५० करोड लगानी गर्नेछन्।
३० प्रतिशत स्वपुँजी प्रवर्द्धकबाट जुटाइने र आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अन्नपूर्ण पावर कम्पनीका अन्नपूर्ण पावर कम्पनीका अध्यक्ष सबु कोइरालाले बताए।
कार्यक्रममा सांसद डा. स्वर्णिम वाग्ले, डा. चन्द्र भण्डारी, मनबहादुर गुरुङ, जीवन परियार, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, विद्युत नियमन आयोग अध्यक्ष ई.डा.रामप्रसाद धिताल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङलगायत सहभागी थिए।