काठमाडौँ । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका ९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले चार हजार ५५५ मत प्राप्त गरे ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भइन् । उनले माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले पराजित गरेकी हुन् ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भइन् । कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन् ।
आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका ९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी भए ।
मत परिणामअनुसार कांग्रेसले कीर्तिपुरको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हासिल गरेको छ । यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र पाँच वटा वडामा विजयी भएको छ । माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्षसहित सात वटा वडामा जीत हासिल गरेको छ ।
उपनिर्वाचनमा जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेदवारले पनि वडाध्यक्षमा स्थान बनाए । कूल ४४ पदका लागि उपनिर्वाचनको कार्य तालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा २ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।
आयोगका अनुसार नगरपालिकाका प्रमुख एक जना, उपप्रमुख एक जना, गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष चार जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार थिए ।