कीर्तिपुर नगरपालिकामा मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले शानदार जित हासिल गरेको छ। सुरुदेखि नै अग्रता लिएका कांग्रेसका कृष्णमान डंगोलले ५,३३४ मतसहित मेयरको पदमा विजयी बने।
डंगोलका निकटतम प्रतिस्पर्धी, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४,५५५ मत प्राप्त गरे भने नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४,३३७ मतमा सीमित भए। स्वतन्त्र उम्मेदवारमध्ये राजमान महर्जनले २,०३६, कविकुमार महर्जनले १,३१४, र दिनेशकुमार अधिकारीले १,०४८ मत पाएका छन्।
यसअघि मेयर पदमा नेपाली कांग्रेसकै राजकुमार नकर्मीले ९,०४३ मत ल्याएर विजयी भएका थिए।
वडाहरूमा पनि कांग्रेसको वर्चस्व
वडा नम्बर १, र ४ मा पनि नेपाली कांग्रेसले वर्चस्व कायम गरेको छ।
- वडा नम्बर १ को अध्यक्ष पदमा कांग्रेसका इच्छाकुमार महर्जनले ७७८ मत प्राप्त गरी जित हासिल गरे।
- वडा नम्बर ४ मा कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भए।
- वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी विजयी बने।
तीनै जना जनप्रतिनिधिको निधनपछि भएको उपनिर्वाचनमा कांग्रेसले आफ्नो पुरानो आधार क्षेत्रलाई थप मजबुत बनाएको देखिन्छ। कीर्तिपुरको यस जितलाई नेपाली कांग्रेसको नेतृत्वमाथि जनताको विश्वासको रूपमा लिइएको छ। माओवादी केन्द्र र एमालेका उम्मेदवारले उल्लेख्य मत पाए पनि कांग्रेसले आफ्नो प्रभावशाली उपस्थिति प्रमाणित गर्न सफल भएको छ।यो जितले आगामी दिनमा स्थानीय तहमा कांग्रेसको पकड़ अझै बलियो बन्ने संकेत गरेको छ।