काठमाडौं। सञ्चालन खर्च धान्न मुस्किल भएको भन्दै हेलिकोप्टर कम्पनीहरुले १५ देखि २० प्रतिशतसम्म हवाई भाडा बढाउने भद्र सहमति गरेका छन्। सन् २०२५ को पर्यटकीय सिजनदेखि नै भाडा बढाउने गरी हेलिकोप्टर कम्पनीबीच सम्झौता भएको एक हेलिकोप्टर कम्पनी सञ्चालकले क्यापिटल नेपाललाई जानकारी दिएका हुन्।
विगत २ वर्षदेखि सरकारले हेलिकोप्टरदेखि त्यसमा आवश्यक पर्ने सामान खरिदमा समेत मूल्य अभिवृद्धि कर(भ्याट) लगाएको र अन्तर्राष्ट्रिय रुपमै पार्टपुर्जा मूल्य बढ्दा कम्पनी सञ्चालनमै समस्या भएपछि भाडा बढाउने निधोमा पुगेको ती सञ्चालकको दाबी छ।
भ्याट लगाउँदा ३० करोडमा पाइने हेलिकोप्टर ४५ देखि ५० करोडसम्म पुगेको र बिमाशुल्कसमेत बढेको उनले बताए। ‘सरकारले भ्याट लगाउदा व्यवसायीलाई मात्र हैन, उपभोक्तालाई समेत असर परेको छ,’ ती सञ्चालकले भने, ‘सरकारले भ्याट फिर्ता नलिएपछि कम्पनी चलाउनकै लागि भाडा बढाउने निधोमा हामी पुगेका हौं।’
सरकारले आर्थिक वर्ष २०७९÷८० देखि पहिलो पटक जहाजसँगै पार्टपुर्जामा भ्याट लगाएको थियो। तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले भ्याट लगाउने निर्णय गरेपछि एयरलाइन्स सञ्चालक समस्यामा पर्दै आएको व्यवसायीको भनाइ छ।
यसअघिका पर्यटनमन्त्रीहरुले भ्याट फिर्ता गराउने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा ल्याउन सकेको छैन। पूर्वपर्यटनमन्त्री हितबहादुर तामाङले भ्याट फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। तर, उनले कार्यान्वयन गर्न सकेनन्।
भ्याटसँगै हवाई इन्धनमा समेत अधिक नाफा लिएर आयल निगमले तेल बिक्री गर्दासमेत सञ्चालन खर्च बढेको जनाएको छ। सरकारले हेलिकोप्टर कम्पनीलाई च्याप्दै जाने र सहुलियत केही नदिने भएपछि बाध्य भएर भाडा बढाउने निर्णयमा आफूहरु पुगेको ती सञ्चालकको भनाइ छ।
हवाई भाडा बढाउने विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी गराइसकेको जनाएको छ। हाल ११ वटा हेलिकोप्टर कम्पनीले चार्टर्ड उडान गर्दै आएका छन्।
यस्तो छ अहिलेको भाडादर
काठमाडौं‑वीरगन्ज‑काठमाडौंः २ लाख २० हजार
काठमाडौं ‑जनकपुर‑काठमाडौंः ३ लाख
काठमाडौं‑ओखलढुंगा‑काठमाडौंः २ लाख २० हजार
काठमाडौं‑पोखरा‑काठमाडौंः ३ लाख ३० हजार
काठमाडौं‑फाप्लु‑काठमाडौंः ३ लाख
काठमाडौं‑खोटाङ‑काठमाडौंः ३ लाख
काठमाडौं‑गोसाइँकुण्ड‑काठमाडौंः १ लाख ५० हजार
काठमाडौं‑मुक्तिनाथ‑काठमाडौंस् ५ लाख २५ हजार
काठमाडौं‑धरान‑काठमाडौंः ४ लाख ४० हजार
काठमाडौं‑भैरहवा र बुटवल‑काठमाडौंः ४ लाख २५ हजार
काठमाडौं‑भोजपुर‑काठमाडौंः ३ लाख ९० हजार
काठमाडौं‑ताप्लेजुङ‑काठमाडौंः ४ लाख ९० हजार
काठमाडौं‑विराटनगर‑काठमाडौंः ४ लाख ८० हजार
काठमाडौं‑पाथीभरा‑काठमाडौंः ५ लाख २५ हजार
काठमाडौं‑दाङ‑काठमाडौंः ६ लाख २५ हजार
काठमाडौं‑चन्द्रगढी‑काठमाडौंः ५ लाख ७५ हजार
काठमाडौं‑नेपालगञ्ज‑काठमाडौंः ७ लाख ५० हजार
काठमाडौं‑सुर्खेत‑काठमाडौंः ७ लाख ५० हजार
काठमाडौं‑धनगढी‑काठमाडौंः ११ लाख
काठमाडौं‑रारा‑काठमाडौं ११ लाख
काठमाडौं‑डडेलधुरा‑काठमाडौं १२ लाख ७५ हजार।
काठमाडौं‑सिमीकोट‑काठमाडौं १२ लाख ७५ रुपैयाँ
लुक्लाबाट सगरमाथा र मकालु क्षेत्रको भाडादर