काठमाडौं। संस्कृति इन्टरनेसनल स्कुलको छैटौं संस्कृति मोडल युनाइटेड नेसन (संस्कृति एमयुएन) सम्पन्न भएको छ।
मंसिर १२ देखि १४ सम्म संस्कृति स्कुल परिसरमा आयोजित ३ दिने कार्यक्रमको अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र समस्या समाधानमा आधारित छलफलमा सहभागी गराएर विद्यार्थीमा नेतृत्वदायी क्षमता र कूटनीतिक सोच विकास गराउने उद्देश्य रहेको थियो।
कार्यक्रममा काठमाडौं उपत्यकाका विद्यालयसँगै बिर्तामोड, विराटनगर, पोखरालगायतका विभिन्न सहरका १९ विद्यालयका ४०० विद्यार्थी सहभागी थिए। सहभागी विद्यार्थीले संयुक्त राष्ट्रसंघका विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै जलवायु परिवर्तन, शान्ति स्थापना, मानव अधिकार र शिक्षाजस्ता महत्वपूर्ण र जटिल मुद्दामा समेत छलफल गरेका थिए।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले भने, ‘संयुक्त राष्ट्रसंघले विशेषगरी बालबालिका र महिलाको अधिकारको स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। हामी नागरिक पनि ती अधिकारप्रति जिम्मेवार बन्न आवश्यक छ। नेपालका १९ बढी विद्यालयका ४०० प्रतिनिधिलाई एउटै स्थानमा सहभागिता जनाउँदै गरेको देख्दा खुसी लाग्यो।’
संस्कृति इन्टरनेसनल स्कुलकी फाउन्डर डाइरेक्टर दीप्ति आचार्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘छैटौं संस्कृति एमयुएनले विद्यार्थीलाई नेतृत्व विकास, सहकार्य, र समस्या समाधानका लागि सोच्न प्रेरणा दिएको छ। कार्यक्रमले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चमा छलफल गर्ने क्षमता विकासमा विशेष टेवा दिएको छ।’
युनिसेफ नेपालका प्रतिनिधि युनिसेफ प्रतिनिधि चाहना सिंह राणाले कार्यक्रमबाट विद्यार्थीको राष्ट्रसंघबारे मात्र नभई आफ्नो अभिव्यक्तिको स्वतन्त्रताको अधिकारलाई व्यवहारमा उतार्ने शैलीबारे पनि जानकारी प्राप्त गरेको बताइन्।
संस्कृति मोडल युनाइटेड नेसनले सहभागी विद्यार्थीलाई भविष्यमा नेतृत्वदायी भूमिकामा उभिन आधारभूत ज्ञान र सीपको विकास हुने विश्वास गरेको छ।