काठमाडौं। चीन सरकारले ३० नेपाली कृषकलाई आफ्नै देश लगेर चिया उत्पादनसम्बन्धी तालिम दिने भएको छ। चीनले इलाम र काभ्रेका ३० किसानलाई गुणस्तरीय चिया उत्पादनबारे तालिम दिन लैजान लागेको हो।
चीनले नेपालमा चिनियाँ गुणस्तरको चिया उत्पादन गरी खरिद चाहना राखेकाले त्यसका लागि किसानलाई आवश्यक तालिम दिन लैजान लागेको मिनिस्ट्री अफ कमर्सले बताएको हो। चीनले डिसेम्बर पहिलो साता नेपालबाट २० दिनका लागि किसान लैजाने तयारी छ।
हालसम्म नेपाली चिया चीनमा केही व्यक्तिले चोरी निकासी गरेर भारत हुँदै चीन पठाइरहेका छन्। यद्यपि, एक साताअघि चीनको एक कम्पनीले इलामबाट नेपाली चिया कोलकाता हुँदै लगिसकेको छ। पछिल्लो समय औपचारिक माध्यमबाटै निर्यात गर्न पहिले किसानलाई तालिम दिन लागेको हो। उनीहरुलाई तालिम दिएपछि इलाम र काभ्रेमा उत्पादित चिया चीन निर्यात सम्भावना छ।
स्वदेशी चिया बजार विस्तार गर्न आवश्यक प्रक्रिया सुरु गरिएको नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलधारले बताए।
‘हामीले २ वर्ष अघिदेखि नै नेपाली चिया निर्यात पहल गरिरहेका थियौं। अहिले चीन सरकारले नै नेपाली चिया लैजान इच्छुक भएर कृषकलाई तालिम दिन लागेको हो,’ संघ अध्यक्ष तुलाधरले क्यापिटल नेपालसँग भने, ‘नेपालबाट सोझै चीनतर्फ चिया निर्यात भएको छैन। अब तालिम पाएका कृषकले उत्पादन गरेको चिया चीनले किन्छ।’
अहिले चीनको मिनिस्ट्री अफ कमर्सले चिनियाँ दूतावास र कमर्स काउन्सिलरसँग समन्वय गरी नेपालको लागि मात्रै ३० कृषक र चिया कफीसँग सम्बन्धित प्राविधिक व्यक्तिलाई तालिम दिन बोलाएको उनले जानकारी दिए।
‘चीनको गुणस्तर अनुसार चिया उत्पादन गर्न त्यहाँको सरकारले नेपालका कृषकलाई तालिम दिन लागेको हो,’ उनले भने, ‘सबै चीन सरकारकै खर्चमा नेपाली कृषकले तालिम लिन्छन् र यहाँ आएर सिकाइअनुसारको चिया कफी उत्पादन गर्छन्।’ उनीहरुले तालिमबाट फर्किएका कृषकले चिया र कफी उत्पादन गरेपछि संघको सहयोगमा चिया निर्यात गरिने उनको भनाइ छ।
चीनको झाङझाउ सहर र फुजियान आयोजन हुन लागेको नेपालको ‘चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रवद्र्धन तालिम कार्यक्रम’ झाङझाउ विज्ञान तथा प्रविधि कलेजमा डिसेम्बर ४ तारिखदेखि २४ तारिखसम्म हुनेछ।
तालिममा सहभागीले कुनमिङ, दाली बाई स्वायत्त प्रान्त, लिजियाङ सहर, र सियामेनको चिया बगान भ्रमण गरी त्यहाँको चिया उत्पादनबारे जानकारी लिने, युनान चिया संस्कृति संग्रहालयको भ्रमण गरी युनानको हजारौं वर्ष पुरानो चिया संस्कृतिबारे जानकारी लिने, पारम्परिक प्रविधिहरु प्रयोग गरी मौलिक पर्यावरणीय चिया आफै प्रशोधन गर्न सिकाइनेछ।
चिया संरक्षण, प्याकेजिङ, सेतो चिया र उलोङ चिया प्रशोधन, चिया ब्रान्ड अन्तर्राष्ट्रियकरण, विश्व चिया उद्योग संरचना र स्वास्थ्यसँग चिया सम्बन्धित तालिम दिइनेछ।
तालिमको माध्यमबाट सहभागीले चिनियाँ चिया उद्योगको वर्तमान अवस्था र विकासका प्रवृत्तिहरूबारे जानकारी लिने, चीनको विभिन्न प्रकारका चियाको उत्पादन र प्रशोधन प्रविधिमा दक्षता हासिल गर्ने र त्यही गुणस्तरको चिया नेपालमा उत्पादन गर्न सक्ने विश्वास संघको छ।
युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चिया बेच्दै आएको इलामको गोर्खा टी स्टेटले केही दिनअघि पहिलो पटक छिमेकी चीनमा चिया निर्यात थालेको छ। चीनलाई विश्वमै चियाको सबैभन्दा ठूलो बजार मानिएको छ।
यसअघि चिनियाँ व्यवसायीले व्यक्तिगत रुपमा किनेर लैजाने गरे पनि गोर्खा टी स्टेटले औपचारिक रुपमा निर्यात गरेको पहिलो पटक हो। गत मंसिर २ मा ७० लाख मूल्यको ६ हजार ३६२ किलो चिया चीन निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ। कोलकाता हुँदै चीन निर्यात गरिएको चिया त्यहाँको स्प्रिङ टी लिमिटेडले खरिद गरेको हो।
नेपालमा हाल करिब दुई करोड किलोग्राम सिटिसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन हुँदै आएको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ ।
नेपालमा करिब १७ हजार हेक्टरमा चिया खेती हुने गरेको छ भने वार्षिक २३ हजार ७ सय ४५ टन चिया उत्पादन हुने बोर्डको तथ्यांक छ। चियामा १७ हजार बढी किसान आबद्ध र ६० हजार बढी श्रमिक प्रत्यक्ष संलग्न रहेको बोर्डको अनुमान छ।