काठमाडौं। आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानी वितरण सन्जालका नयाँ पाइपलाइनको अन्तिम परीक्षणलाई तीव्रता दिइँदै आएको जनाएको छ।
उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएकामध्ये थप १६ खानेपानी वितरण सन्जालका ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको छ।
निर्देशनालयबाट मेलम्ची उप–आयोजना २ अन्तर्गत बिच्छ्याइएका त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरसहित काठमाडौं उपत्यकाका कुल ३३ वटा खानेपानी वितरण सन्जालको जम्मा ९८० किलोमिटर नयाँ पाइपलाइनमध्ये थप ५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न भएको हो।
अन्तिम परीक्षण सम्पन्न भएका थप १६ वटा खानेपानी वितरण सन्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्न हाल आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
यसअघि पहिलो चरणमा ४ र दोस्रो चरणमा १० गरी १४ वटा खानेपानी वितरण सन्जालका जम्मा ३५० किलोमिटर नयाँ पाइलाइनको अन्तिम परीक्षण सम्पन्न गरी त्यसको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ।
हाल अन्तिम परीक्षण सम्पन्न भएका र यसअघि परीक्षण सम्पन्न गरी हस्तान्तरण गरिएकासमेत गरी जम्मा ३० वटा सन्जालका ९२४ किलोमिटर नयाँ पाइपलाइनको परीक्षण सम्पन्न भएको छ।
बाँकी रहेका काठमाडौंका सुन्धारा र न्यूरोड क्षेत्रका विभिन्न स्थानका ३ वटा सन्जालका ५६ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षणसमेत डिसेम्बरभित्र सम्पन्न गर्ने गरी कार्य भइरहेको आयोजनाले जनाएको छ।
निर्देशनालयबाट बिच्छ्याइएका खानेपानी वितरण सन्जालका प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सन्जालका नयाँ पाइपलाइनसमेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइन रहेको छ।
यसैगरी खानेपानी वितरण सञ्जालबाट खानेपानी वितरण हुँदै आएका नयाँ पाइपलाइनमा हालसम्म ६० हजार ८३१ वटा नयाँ मिटर जडान गरिसकिएको आयोजनाका उपनिर्देशक एवं प्रवक्ता इन्जिनियर चन्द्रकुमार पाँ श्रेष्ठले बताए।
यसअघि निर्माण सम्पन्न भई बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका पानीपोखरी र थोक वितरण प्रणाली हाल सञ्चालनमा छन्। साथै, खानेपानी वितरण प्रणालीका नयाँ पाइपलाइनबाट उपभोक्ताका घरघरमा समानुपातिक रूपमा खानेपानी वितरण हुँदै आएको छ।