काठमाडौं। आईसी इन्जिन (डिजेल÷पेट्रोल) गाडी माग घटेसँगै नेपालमा रहेका आधिकारिक बिक्रेता कम्पनीले आफूसँग मौज्दात गाडी आधा मूल्यमै बिक्री थालेका छन्। खासगरी, विद्युतीय सवारीसाधन (ईभी)को आकर्षण उच्च हुँदै गएपछि चारपांग्रे इन्धन सवारीसाधनको व्यापार ठप्पजस्तै छ। नेपालमा इन्धन गाडी आयात तथा बिक्री वितरण गर्दै आएका ठूलो संख्याका अटो व्यवसायी ईभी व्यापारतर्फ लागिसकेका छन्।
केही ब्रान्डसँग अझै धेरै इन्धन गाडी रहेकाले तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा व्यवसायी छन्। लामो समयसम्म गाडी स्टोरमा राख्दा त्यसको लागत झन् बढेर जाने तथा पछि पनि बिक्री नहुने अवस्था सिर्जना हुन सक्छ। साेही कारण व्यवसायीले अकल्पनीय मूल्यमा इन्धन सवारी बिक्री गरिरहेका छन्, जसको फाइदा ग्राहकले लिइरहेका छन्।
इन्धन सवारीसाधनको व्यापार गरिरहेका र पहिलाको इन्धन गाडी स्टकमा रहेका कम्पनीहरुले नयाँ गाडीको मूल्य आधासम्म घटाएर बिक्री गरिरहेका हुन्। पछिल्लो समय नयाँ सवारीसाधन खरिद गर्ने अधिकांशको रोजाईमा ईभी पर्न थालेपछि अटो व्यवसायी आफूसँग रहेका नयाँ इन्धन गाडी पनि सेकेन्ड ह्यान्ड भाउमा बिक्री गर्न बाध्य भएका हुन्।
ईभीप्रतिको क्रेज दिनप्रतिदिन बढी रहेको समयमा आफूसँग भएको गाडी झन् बिक्री नहुने माहोलदेखेपछि व्यवसायीले सेकेन्ड ह्यान्ड मूल्यमा नै नयाँ गाडी दिइरहेको एक अटो व्यवसायीले बताए। खासगरी, २०२० देखि यताका स्टक गाडी हटाउनको लागि पनि कम्पनीले नयाँ गाडीलाई सेकेन्ड ह्यान्ड मूल्यमा बेच्नु पर्ने बाध्यता आएको ती व्यवसायीको भनाइ छ।
‘आईसी इन्जिन गाडी कम्पनीले अहिले धेरै मूल्य घटाएर बेचिरहेका छन्। मैले बेचिरहेको गाडी पनि राम्रै छुट दिएर बेचिरहेको छु,’ ती व्यवसायीले भने, ‘अहिले पनि मसँग २०२२ मोडलको गाडी स्टकमा छन्, जसलाई राम्रो छुट दिएर बेचिरहेको छु। यो स्टक सकेपछि कम मगाएर कमै बेच्ने सोच हाम्रो छ।’ उनले आफूसँग भएको गाडी लामो समय स्टकमा राख्नुभन्दा कम मूल्यमा बिक्री गर्नु नै उचित हुने भएकाले अटो व्यवसायी यसतर्फ लागेको बताए।
अटो व्यवसायीले नयाँ गाडी सेकेन्ड ह्यान्डको मूल्य हाराहारी बिक्री गरेपछि सेकेन्ड ह्यान्ड गाडी लिने सोच बनाएका व्यक्ति यसतर्फ आकर्षित भएका छन्। सेकेन्ड ह्यान्ड गाडी किन्नुभन्दा त्यसमा केही रकम थपेर नयाँ आउने भएकाले पनि यसतर्फ मानिस आकर्षित हुनु स्वभाविक हो। व्यवसायीका अनुसार अहिले पनि धेरै नयाँ इन्धन गाडी भन्सारमै छन्।
धेरै ब्रान्डसँग २०२०, २०२१ र २०२२ देखिका गाडीहरु स्टकमा रहेकाले कम मार्जिन अथवा घाटा खाएर भएपनि बेच्नु पर्ने बाध्यता व्यवसायी देखिएको उनको भनाइ छ। ‘कमर्सियल गाडी झन् धेरै स्टकमा छन्। केही मात्रामा घट्दै गएपनि सकिन अझै समय लाग्ने देखिन्छ। ईभीमा ब्रान्ड धेरै भएकाले विकल्प धेरै छन्,’ ती व्यवसायीले भने, ‘इन्धनमा पनि कुनै–कुनै ब्रान्डका गाडी राम्रो बिक्री भइरहेको छ तर, धेरै ब्रान्डका लागि पनि कठिन स्थिति छ।’
हुन त, गएको नाडा अटो शोमा धेरै ब्रान्डहरुले मूल्य घटाएर गाडी बिक्री गरेका थिए। मूल्य घटाएर दिनुको कारण धेरै प्रतिस्पर्धा र गाडी बिक्री नहुने तनावले नै हो। त्यसैले पनि जति मूल्यमा ल्याएको हो सोही मूल्यमा सवारीसाधन बिक्री गर्नुपर्ने बाध्यतामा व्यवसायी पुगेका हुन्। कुनै समय नेपाली अटो बजारमा कब्जा जमाएका इन्धन गाडीको व्यापार अहिले शून्य अवस्थामा पुग्दा व्यवसायको संरचना नै परिवर्तन भएको छ।
यस्तै, अर्का अटो व्यवसायी पनि आफूसँग भएका स्टकका इन्धन गाडी बिक्री गर्न कम मार्जिनमा बिक्री गरिरहेको बताउँछन्। ‘हाम्रोमा पनि थोरै संख्यामा पुरानो इन्धन गाडी स्टकमा छन्। आफूसँग भएका स्टकका गाडी बिक्री गर्नका लागि हामीले कम मूल्यमा सवारीसाधन दिइरहेका छौं,’ अर्का अटो व्यवसायीले भने, ‘पुरानै मूल्यमा बिक्री हुन कठिन भएकाले कम मूल्यमा गाडी दिन बाध्य भएका हौं।’
विद्युतीय गाडीमा भइरहेको उच्च प्रतिस्पर्धाका कारण ईभी ब्रान्डले ८० प्रतिशतसम्मको बैंकिङ फाइनान्सको सुविधा दिएका छन्। तुलनात्मक रुपमा पेट्रोल गाडीका लागि लोन टु भ्यालु रेसियो ५० प्रतिशत मात्रै छ। पेट्रोल गाडीमा ऋणको सीमा बढाए बिक्री बढ्न सक्ने आँकलन व्यवसायीहरुले गरेका छन्। तथापि, सरकार नै ईभी सवारीसाधनको विस्तारलाई प्रोत्साहन गर्न लागि परेकाले यसो हुन सकेको छैन।
व्यापार खुम्चिएपछि केही इन्धन ब्रान्डले आफूलाई स्थापित राखिराख्न गाडी खरिदमा विभिन्न आकर्षक योजनाहरु पनि ल्याइरहेका छन्। पेट्रोल गाडीको व्यापार घटेपछि धेरै व्यवसायीले ईभी गाडी पनि आयात गर्दै आएका छन्। ग्राहक इन्धन गाडीको ठाउँमा ईभीतिर आकर्षित भएपछि व्यावसायिक घराना त्यतातर्फ लागेका हुन्। कम्पनीले आफ्ना डिलर जोगाउन भए पनि ईभी गाडी नेपाल भित्र्याइरहेका छन्।