काठमाडौं। राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) राजमार्गको अलाइनमेन्ट (रेखांकन/लम्बाइ) परिवर्तन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रक्रिया अघि बढाउने भएको छ। मध्यपहाडी राजमार्गको लम्बाइ घटाउन सकिने ठाउँ रहेकाले घटाएर यात्रा छोटो र सहज बनाउन लागिएको मन्त्रालय अन्तर्गतको सडक विभागका महानिर्देशक रामहरि पोखरेल बताउँछन्।
नेकपा एमालेले २०८० मंसिरमा गरेको पूर्वपश्चिम (झुलाघाट–चियोभञ्ज्याङ) पैदल यात्राका क्रममा हाल कायम भएको राजमार्गको रेखांकन बस्तिभन्दा टाढा भएको तथा कुल लम्बाइ पनि बढी भएको निष्कर्ष निकालेको थियो। उक्त निष्कर्षलाई कार्यान्वयन गर्न तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमाले अध्यक्ष केपीशर्मा ओलीले सुझाव दिएका थिए। कुल १८ सय ६९ किलोमिटर लम्बाइको राजमार्गमा कति किलोमिटर लम्बाइ घट्छ भन्ने हालसम्म निश्चित नभएको मध्यपहाडी राजमार्गका कामु आयोजना निर्देशक रविन्द्रलाल दास बताउछन्।
एमालेले दिएको सुझाव कार्यान्वयन गर्न प्रचण्डले चासो दिएका थिएनन्। तर, २०८१ असार ३१ गते ओली प्रधानमन्त्री बनेपछि आफ्नो पार्टीले निकालेको निष्कर्षलाई कार्यान्वयनमा लाने योजना अघि सारेका हुन्। विभागका महानिर्देशक पोखरेल चालू आर्थिक वर्ष सुरु भएसँगै मध्यपहाडीको अलाइनमेन्ट घटाउने तयारी रहेपनि बाढीपहिरोका कारण हालसम्म ठोस काम गर्न नसकिएको बताउछन्। यद्यपि, यो आर्थिक वर्षभित्र ‘फिजिबिलिटी स्टडी’ हुने उनको भनाइ छ। ‘मध्यपहाडीको अलाइनमेन्ट घटाउन फिजिबिलिटी स्टडी गर्न लागेका थियौं त्यहि बेला बाढी गएर सबै जनशक्ति त्यता तिर केन्द्रित भयो, तर अब काम सुरु गरेर यो वर्ष नै अध्ययनको काम सक्छौं’ महानिर्देशक पोखरेलले भने।
मध्यपहाडीका कामु आयोजना निर्देशक दासका अनुसार रामेछाप जिल्लामा मात्रै करिब २२ किलोमिटर अलाइनमेन्ट घटाउन सकिन्छ। क्यापिटल नेपालसँग कामु निर्देशक दास भन्छन्, ‘सुरुमा रामेछापबाट फिजिबिलिटी स्टडी हुन्छ अन्य स्थानमा प्राविधिक रुपमा के–कस्तो अवस्था देखिन्छ त्यहिअनुसार अघि बढ्छौं।’
त्यसबाहेक अन्य कुन–कुन स्थानमा राजमार्गको लम्बाइ घटाउन सकिन्छ भनेर अध्ययन भइरहेको दासको भनाइ छ। आयोजनाका ५ वटा निर्र्देशनालयहरु छन्। त्यहाँबाट सडकको लम्बाइ घटाउन सकिने/नसकिने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन माग गरिएको कामु निर्देशक दासले जानकारी दिए। एमालेले सडकको लम्बाइ घटाउन सकिने सुझाव दिएपनि कति र कहाँ घटाउने भन्ने जानकारी नखुलाएको पनि उनको भनाइ छ।
के हुन्छ फाइदा ?
सडकको लम्बाइ धेरै भएको भन्दै अलाइनमेन्ट परिवर्तन गर्न लागिएको मध्यपहाडी राजमार्ग निर्माणको समयमा उल्लेख्य परिवर्तन हुँदैन। अहिले जति लागत अनुमान अयोजना कार्यालयले गरेको छ त्यसकै आधारमा बाँकी सडक बन्ने कामु निर्देशक दासको भनाइ छ। निर्माण सम्पन्न भइसकेपछि भने कुल लम्बाइ घट्दा यात्रा समय छोटिने, सवारी साधनको इन्धन/फ्यूल खर्च बचत हुने जस्ता फाइदा पुग्ने उनको भनाइ छ। ‘अहिलेका लागि उल्लेख्य परिवर्तन हुँदैन तर, भविष्यमा यसले सकरात्मक नै प्रभाव पर्छ’ उनले भने।
कहिले सकिन्छ फिजिबिलिटी स्टडी ?
मध्यपहाडी राजमार्गको काभ्रे सीमा दोलालघाटबाट रामेछाफर्तको रेखांकन पहिलो चरणमा घटाउन अध्ययन गर्न लागिएको हो। सडकको रेखांकन परिवर्तनका लागि फिजिबिलिटी स्टडी गर्नुपर्छ। आवश्यक तयारी गरेर फिजिबिलिटी मात्रै गर्न १५/२० दिन लाग्नेछ। त्यस्तै फिजिबिलिटी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार गर्नुपर्ने हुन्छ। रेखांकन परिवर्तनका लागि रामेछापमा सिमित (करिब ५ किमि) सडकको मात्रै डिपिआर गर्दा पुग्ने भएकाले धेरै समय नलाग्ने कामु निर्देशक दासको भनाइ छ।