काठमाडौं।पछिल्लो समय मुलुकमा साहसिक खेल(एड्भेन्चर) गतिविधि बढ्दो छ। पहाडको टुप्पो होस् या खोला किनार। जताततै साहसिक गतिविधिका विभिन्न खेल सञ्चालन भइरहेका छन्। बढ्दो पर्यटकीय गतिविधिसँगै धेरैले साहसिक खेलमा लगानीसमेत बढाइरहेका छन्।
मुलुकमा साहसिक पर्यटन विकासले तीव्रता पाएसँगै त्यसतर्फ आकर्षण बढेको छ। साहसिक पर्यटनलाई राजनीति, कलालगायत क्षेत्रका व्यक्तित्वले समेत प्राथमिकता दिँदा यसको विस्तार र ब्रान्डिङमा सहयोग पुगेको छ।
व्यस्तताबीच केही समय फुर्सद निकालेर पर्यटनमा रमाउने बानीको विकास पछिल्लो समय धेरैमा भइरहेको छ। राजनीतिक दलका शीर्ष नेताहरू पनि केही पलको रिफ्रेसमेन्टका लागि विभिन्न पर्यटकीय गन्तव्य पुग्ने गरेका छन्।
धुलिखेलको जिपलाइन होस वा कुष्माको स्काई क्याफे, त्रिशुलीमा ¥याफ्टिङलगायत साहसिक खेल उनीहरूको प्राथमिकतामा पर्ने गरेका छन। हट एयर बेलुन, प्याराग्लाइडिङलगायतका साहसिक खेलमा पनि राजनीतिक दलका नेताहरूको आकर्षण बढ्दो छ।
उनीहरूले साहसिक पर्यटनमा मुलुकको धेरै सम्भावना रहेकाले यसलाई बढाउनुपर्ने तर्क अगाडि सार्ने गरेका छन। शीर्ष नेताहरू साहसिक पर्यटनमा रमाउँदा अन्य पर्यटकको चहलपहल पनि त्यसतर्फ बढ्ने गरेको पाइन्छ। नेताहरूले आफू रमाउने मात्र नभई पर्यटन चलायमान बनाउनसमेत भूमिका खेल्ने गरेको यी उद्योगका सञ्चालक बताउँछन्।
‘पछिल्लो समय साहसिक खेलमा शीर्ष नेताहरू पनि आकर्षित हुनुभएको छ। यसले साहसिक पर्यटनको विकासका लागि झनै ऊर्जा मिलेको छ,’ द क्लिफ नेपालका अध्यक्ष राजु कार्कीले भने। केही समयअघि गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हट एयर बेलुनको मज्जा लिएका थिए। नेपालकै एक मात्र हट एयर बेलुन उडाउने कम्पनी बेलुन नेपालको बेलुनबाट उनले पोखरा उपत्यका र आसपासका आकर्षक दृश्यावलोकन गरे।
यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन गरे। कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई लयमा फर्काउन प्रचण्डले भूमिका खेलेका थिए। प्रचण्डले जिपलाइनपछि निकै रमाइलो भएको प्रतिक्रिया दिएका थिए। त्यसलगत्तै धुलिखेल जिपलाइनमा पर्यटक संख्या ह्वात्तै बढेको कम्पनीका सञ्चालक केदार थापा बताउँछन्।
केही समयअघि राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले धुलिखेल जिपलाइनको मज्जा लिए। उनले जिपलाइनको अनुभव निकै रोमाञ्चक भएको प्रतिक्रिया दिएका थिए। जिपलाइन गर्दा रमाइलो अनुभूति मभएको उनले बताएका थिए।
२०७५ फागुनदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको जिपलाइन काठमाडौंबाट करिब ३५ किलोमिटर दूरीमा छ। धुलिखेलस्थित थाक्ले डाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिपलाइनको ल्यान्डिङ स्टेसन रहेको छ भने यसको दूरी एक हजार एक सय अर्थात् १.१ किलोमिटर रहेको छ।
काठमाडौंबाट नजिकैको गन्तव्य भएका कारण तथा कलाकार तथा नेताहरूसमेत त्यसमा रमाउँदा जिपनलाइनमा धेरैको आकर्षण बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ ले त्रिशूली रिभरसाइड रिसोर्टमार्फत त्रिशूली नदीमा ¥याफ्टिङ गरे।
गर्मी छल्न उनले आफ्नो टिमसहित त्रिशूली नदीमा ३ घन्टा ¥याफ्टिङ गरेका थिए। ¥याफ्टिङका क्रममा उत्साहित हुँदा विभिन्न गीत गाएर रमाउँदै मज्जा लिए। ¥याफ्टिङका क्रममा प्याडल गेम र क्लिफ जम्पसमेत उनले गरे। उनले ¥याफ्टिङ गर्दा आफूलाई निकै रमाइलो भएको प्रतिक्रिया दिएका थिए। काठमाडौं नजिकैको सो ठाउँ पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण भएको विप्लवको भनाइ थियो।
कांग्रेस महामन्त्री गगन थापा केही समयअघि पर्वत र बाग्लुङको एड्भेन्चर हब ‘द क्लिफ’ पुगेर स्काई क्याफेमा रमाए। कालीगण्डकी नदीमाथि बागलुङको बलेवातर्फ भीरमा डोरीमा झुन्डिएको क्याफेमा उनले साथीहरूसँग ‘एड्भेन्चर ब्रेकफास्ट’ लिएका थिए। त्यसपछि थापाले साहसिक पर्यटन प्रवद्र्धनका लागि स्काई क्याफे आकर्षण भएको बताएका थिए।
गण्डकी प्रदेशका पूर्वपर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले प्याराग्लाइडिङ गरे। पर्यटनमन्त्री भएकै समय उनले प्याराग्लाइडिङ गरेका थिए। प्याराग्लाइडिङमार्फत पोखरा र समग्र मुलुकको आर्थिक समृद्धिमा टेवा पुगेको भन्दै त्यसलाई अझै विस्तार गर्नुपर्ने उनको प्रतिक्रिया थियो।
यसरी साहसिक खेलमा नेताहरूले समेत बेलाबेला आएर सहभागी भइदिँदा त्यस क्षेत्रको प्रचार–प्रसारमा मात्र हैन, लगानी सुरक्षाका लागिसमेत सहज हुने सञ्चालक बताउँछन्। नेपालमा साहसिक खेलका लागि अथाह सम्भावना रहेको र राज्यले त्यसमा सहयोग गर्नुपर्ने एवं नेताहरूको भ्रमणले सहयोग पुग्ने जिपलाइन सञ्चालक थापाको बुझाइ छ।
साहसिक खेलमा बाह्यभन्दा आन्तरिक पर्यटक बढी मात्रामा पुग्ने गरेका छन्। त्यसैले पनि राजनीतिक दलका शीर्ष नेताहरूले नै साहसिक खेलमा सहभागी भएको फोटो र भिडियो मात्र सामाजिक सन्जालमा राखिदिँदा सम्बन्धित पार्टीका कार्यकर्ता मात्र नभई शुभेच्छुकले समेत हेरेर आउने गरेको व्यवसायीको भनाइ छ।
साहसिक खेल स्थापनाका लागि पछिल्लो समय स्थानीय सरकारले समेत साथ दिँदै आएका छन्। विशेषगरी आफ्नो क्षेत्रमा विभिन्न खाले संरचना निर्माण गर्ने र पर्यटकीय गतिविधि बढाएर आम्दानीको गतिलो स्रोत बनाउनतिर लागेका छन्।