काठमाडौं। पछिल्लो दुई साताको सेयर बजार सूचक केही रोचकपूर्ण रह्यो। अघिल्लो साता ६८ अंकले घटेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साता भने ६८ अंकले नै बढ्यो। गत साताको पाँच कारोबार दिनमा तीन दिन बढेर दुई दिन घट्दै ६८ अंकको वृद्धिका साथ अन्तिम कारोबार दिन बिहीबार नेप्से २७४८.०५ बिन्दुमा रोकिएको छ।
अघिल्लो साताको चार कारोबार दिनमा भने नेप्से दुई दिन घटेर दुई दिन बढ्दा ६८ अंकको गिरावटका साथ २६८०.४४ बिन्दुमा सीमित भएको थियो। त्यसअघि अर्थात् कात्तिक २९ गते २७४८ बिन्दुमा रहेको नेप्से १० कारोबार दिनपछि पुनः गत साता बिहीबार अर्थात् मांसिर १३ गते सोही बिन्दुमा नै आएर रोकिएको हो। हुनत, पछिल्लो केही समय यता नेप्से २७०० बिन्दुमा नै बढी रुमल्लिरहेको छ।
२०८१ असार १६ गते २०३७.०९ बिन्दुमा रहेको नेप्से लगातार बढेर साउन ३१ गते ३०००.८१ बिन्दुसम्म पुग्यो। त्यसपछि निरन्तर घटेर पछिल्लो पटक असोज १३ गते २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु)सम्म खुम्चिएर बजार फेरि उकालो लाग्न थाल्यो। उक्त न्यून बिन्दुबाट उकालो लागेको बजार पछिल्लो पटक अधिकांश समय २७०० बिन्दुमा अड्किरहेको छ।
पछिल्लो १४ कारोबार दिनमध्येमा नेप्से तीन कारोबार दिन २६०० बिन्दुमा रहँदा ११ कारोबार दिन भने २७०० बिन्दुमा नै पुगेर बन्द भएको देखिन्छ। हुनतः नेप्से २७०० बिन्दुमा रुमल्लिरहनु भन्दा अगाडि बढी मात्रामा २६०० बिन्दुमा अड्किरहेको थियो। नेप्से पछिल्लो पटक तीन हजार बिन्दुबाट फर्किएर साढे २४०० बिन्दु छुँदै उकालो लागेपछिको अधिकांश समय २६०० र २७०० बिन्दुमा डेरा जमाइरहेको छ।
खासगरी पछिल्लो पटक बजार सुस्त गतिमा उकालो लागिरहेको छ। यहिबीचमा गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ। मौद्रिक नीति समीक्षामा नीतिगत व्यवस्था यथावत् नै राखिएको छ जुन पुँजी बजारका लागि अपेक्षित नै थियो। सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्नुपर्ने र व्यक्तिगत सेयर कर्जामा रहेको १५ करोड रुपैयाँको सीमा हटाउनुपर्ने विषय लगानीकर्ताले उठाएका थिए।
नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे मौद्रिक समीक्षा अपेक्षाकृत नै आएकाले यसले बजारलाई नकरात्मक असर नगर्ने बताउँछन्। ‘मौद्रिक नीति समीक्षामा नीतिगत परिवर्तन खासै गर्ने गरेको थिएन। जोखिमभार र कर्जामा लगाइएको क्याप हटाउँछ कि भन्ने थियो,’ अध्यक्ष पाण्डे भन्छन्, ‘समीक्षाले कुनै विषय नचलाएपनि सामान्य बाहेक बजारले नकरात्मक प्रतिक्रिया नगर्ला भन्ने छ।’
अध्यक्ष पाण्डेले नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको र नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बजारको हितमा काम गर्ने बचन दिएकाले पनि लगानीकर्ताले त्यसलाई सकरात्मक रुपमा लिने बताए। चाडैं नै सकरात्मक कामको थालनी गरेमा लगानीकर्ताको मनोबल उकासिने उनको तर्क छ।
हुनत करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएको छ। अध्यक्ष नियुक्तीसँगै अब भने चलयमान हुने आँकलन गरिएको छ। सेबोन अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएसँगै पाइपलाइनमा रहेका प्राथमिक सेयर (आईपिओ) निष्कासन कार्य अघि बढ्ने आँकलन गरिएको छ।
सुस्ताएको प्राथमिक बजार चलयमान भएको खण्डमा यसले समग्र बजारमा सकरात्मक प्रभाव पार्नेछ। यसबाट कारोबार रकम सुधार हुने र सूचक पनि माथिल्लो बिन्दुमा उकालो लाग्नका लागि सहयोग गर्नेछ। गत साता नेप्सेमा कुल ३८ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो साता भने नेप्सेमा कुल ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आईपिओ निष्कासन कार्य अगाडि बढेमा यो कारोबार रकम बढ्नसक्ने तर्क लगानीकर्ताको छ।
सेबोनमा नयाँ अध्यक्ष नियुक्ती भएसँगै लगानीकर्ताले बजार सुधारका लागि गर्नुपर्ने कामहरुको लिखित सुझाव श्रेष्ठलाई दिइसकेका छन्। लगानीकर्ताको सुझाव बुझ्दै अध्यक्ष श्रेष्ठले बजारको हितमा काम गर्ने र लगानीकर्ताको पक्षमा रहने प्रतिक्रिया दिएका छन्। कार्यकालको सुरुवाती चरणमा नै नीतिगत सुधार र बजारमा रहेका विकृतिका विरुद्ध काम गर्न सुरु गरेमा त्यसले बजार मजबुद बनाउने साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसी बताउँछन्।
‘सेबोन अध्यक्षलाई बधाई दिँदै हामीले बोर्डले तत्कालै तथा दिर्घकालिनरुपमा गर्नुपर्ने कामहरुको लिखित सुझाव दिएका छौं। उहाँले लगानीकर्ताको हितमा काम गर्ने बचन दिनु भएको छ,’ जिसीले भने, ‘राम्रो कामको थालनी गरेमा त्यसले बजारलाई थप राम्रो बनाउने अपेक्षा छ।’ सेबोनमा महिनौंदेखि रोकिएका काम अगाडि बढेमा त्यसले बजारलाई थप राम्रो बनाउने तर्क उनको छ।