काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुन लागेको उत्तरी छिमेकी चीनको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले शुक्रबार सार्वजनिक गरिसकेको छ। प्रधानमन्त्री ओलीले मंसिर १७ देखि २० सम्म गर्ने चीन भ्रमणमा जाने सदस्यको संख्या ८७ रहेको परराष्ट्रले जनाएको छ।
प्रधानमन्त्रीको भ्रमण दलमा आधा संख्या नजिक अर्थात् करिब ३ दर्जन बढी उद्योगी व्यवसायी सहभागी हुँदै छन्। प्रधानमन्त्री ओली भ्रमणमा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी सहभागी हुने निश्चित भएको हो।
प्रधानमन्त्रीको भ्रमण दलमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, महासंघ पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायत सहभागी हुने सूची सार्वजनिक भएको छ।
चेम्बर सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष उर्मिला श्रेष्ठ पनि प्रधानमन्त्रीसँग चीन जाने छन्।
सूचीअनुसार स्वतन्त्र ऊर्जा उत्पादक संघ अध्यक्ष गणेश कार्की, नाडा अटोमोबाइल्स एसोसिएसन अध्यक्ष करण चौधरी, निर्यात व्यवसायी महासंघ अध्यक्ष शंकरप्रसाद पाण्डे, सिम्याक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठ पनि प्रधानमन्त्रीको भ्रमण दलमा अटाएका छन्।
प्रधानमन्त्रीसँग चीन जाने विभिन्न उद्योगी, व्यवसायीको टोलीले त्यहाँका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग दुई देशबीचको व्यापार, उद्योग, पर्यटन, पूर्वाधार, निजी लगानीलगायत विषयमा सहकार्यबारे छलफल गर्नेछ। यस्तै, दुई देशका संस्थाले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–चाइना बिजनेस फोरममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिकासमेत परराष्ट्रले सार्वजनिक गरेको छ।
भ्रमणका बेला प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङ, राष्ट्रपति सी चिनफिङलगायतका नेतासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा ३२ जना सरकारी अधिकारी रहनेछन्। प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, सांसद र उच्चपदस्थ सरकारी अधिकारी पनि चीन जानेछन्।
यस्ताे छ प्रधानमन्त्रीसँग चीन जाने उद्योगी, व्यवसायीकाे सूची