आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा हङकङ, दुबई र भारतबाट बेटिङ हुने शंका प्रहरीले गरेको छ। यसै कारण, प्रहरी प्रशासनले प्रतियोगितामा उच्च निगरानीको व्यवस्था मिलाएको छ।
खेल सुरु हुनुअघि नै खेलाडी बसेका होटलमा प्रहरी निरीक्षण गरिएको छ। केही क्लबहरूमा हङकङ, दुबई र भारतमा रहेका नेपालीको अदृश्य लगानी रहेको सूचना पाएपछि प्रहरी थप सतर्क भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले पनि प्रतियोगिता निष्पक्ष बनाउन २४ घण्टै सुरक्षा अधिकारी खटाउने निर्णय गरेको छ। क्यानका सचिव पारस खड्काले आठवटै फ्रेन्चाइज टोलीसँग एकरएक जना सुरक्षा लायजन अधिकारी रहने जानकारी दिए। यसका लागि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)सँग सहकार्य गरिएको उनले बताएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एन्टी करप्सन युनिटको आग्रहमा यस पटक प्रतियोगितामा सहभागी खेलाडीहरूको निगरानी थप कडाइका साथ गरिएको छ।
एनपीएलको पहिलो संस्करणमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एडभेन्चर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्।
यसअघि २०७९ मा आयोजना भएको नेपाल टी–२० लिगमा खेलाडीमाथि ‘स्पट फिक्सिङ’को आरोप लागेका कारण यस पटक विशेष सावधानी अपनाइएको छ। टी-२० लिगमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए।