काठमाडौं। सिमेन्ट उत्पादकले बोरामै १०० रुपैयाँसम्म बढाएपछि निर्माण व्यवसायी आक्रोशित बनेका छन्। निर्माण सिजनमै सिमेन्ट उत्पादकले कार्टेलिङ गरी बोरामै १०० रुपैयाँसम्म बढाएको दाबी गर्दै निर्माण व्यवसायीले मूल्य नघटाए कन्स्ट्रक्सन होलिडे घोषणा गर्ने चेतावनी दिएका हुन्।
निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले सिमेन्ट लगायतका निर्माण सामग्री उत्पादनसग सम्बन्धित इन्धनसहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी एकमहिने अवधिमा पटक–पटक सिमेन्टमा प्रतिबोरा १ सय बढी मूल्यवृद्धि गरिएको बताए।
निर्माण सिजनका बेला सीमित सिमेन्ट उद्योगीले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभावलगायतका कारण सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको उनको भनाइ छ।
‘खुला अर्थतन्त्र नीति विपरीत सिमेन्टमा गरिएको अव्यावहारिक एवं अवैज्ञानिक मूल्यवृद्धि दण्डनीय अवराध भएको महासंघको ठम्याइ छ,’ महासचिव दाहालले भने, ‘विगतमा पटक–पटक भएको मूल्यवृद्धिका कारण पूर्वधार खर्च बढ्न गई सरकारका सार्वजनिक निकायलाई नै आथिर्क बोझ थपिएको थियो र फेरि थपिनेछ।’
निर्माण व्यवसायीको अर्बौ रुपैयाँ भुक्तानी नहुँदा उद्योग धराशयी भएको स्थितिमा सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी उपभोक्तालाई राहत दिन महासंघले अनुरोध गरेको छ।
इता, सिमेन्ट उत्पादक संघका उपाध्यक्ष तारा पोखरेलले बजारमा कार्टेलिङ गरी मूल्यवृद्धि गरियो भन्नु गलत भएको दाबी गरे। पछिल्लो समय सिमेन्टका लागि आवश्यक कच्चा पदार्थको मूल्यवृद्धि भएको र खर्च धान्नै नसक्ने स्थीतिमा उद्योग पुगेपछि मूल्य समायोजन गरेको उनको भनाइ छ।
‘आम्दानीभन्दा खर्च बढ्दै गएको कारण अहिले अधिकांश सिमेन्ट उद्योग धराशयी स्थितिमा पुगेका छन्,’ उपाध्यक्ष पोखरेलले क्यापिटल नेपालसँग भने, ‘अहिले बढाएको मूल्यले घाटा पूर्ति पूर्ण रुपमा गरिसकेको छैन।’
बजारमा सिमेन्ट माग घटेको र भारत निर्यातसमेत हुन नसक्दा बैंकको ब्याज र किस्ता मात्र हैन, तीन महिनादेखि कर्मचारीलाई तलब दिन नसक्ने स्थितिमा सिमेन्ट उद्योग पुगेको उनको दाबी छ।
उपाध्यक्ष पोखरेलले भने, ‘हामी बजारमा अस्वाभाविक मूल्य बढाएर नाफा कमाउने उद्देश्य छैन, हाम्रो ब्यालेन्ससिट हेरे पनि हुन्छ, खर्च धान्नै नसक्ने भएपछि मात्र मूल्य बढाएका हौं।’
केही वर्षदेखि विकास निर्माणका नयाँ काम हुन सकेका छैनन्। राज्यको तर्फबाट विकास निर्माण गतिविधि नहुँदा सिमेन्ट माग घटेको र निजी क्षेत्रले बनाउने केही आयोजनामा मात्र उत्पादन पुग्दा खर्च धान्न सक्ने स्थितिमा उद्योग नरहेको व्यवसायीको भनाइ छ।
अहिले बजारमा उद्योग अनुसार फरक फरक मूल्य छ। सामान्यतया ओपिसी ४५० देखि ५७५ र पिपिसी ४५० देखि ४७० रुपैयाँसम्म सिमेन्ट बिक्री भइरहेको उद्योगीले बताए। उद्योगअनुसार सिमेन्टको मूल्य फरक पर्ने र ढुवानीले केही ठाउँमा मूल्य तलमाथि हुन सक्ने उनीहरुको तर्क छ।