काठमाडौं। सेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई विभिन्न सुझाव दिएका छन्। शुक्रबार जनरल इन्भेष्टर एसोसिएसन अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितापत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले अध्यक्ष श्रेष्ठलाई भेटेर पुँजीबजार सुधार सुझाव दिएका हुन्।
लगानीकर्ताले पुँजी बजार सुधारका लागि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले चाल्नुपर्ने कदम र गर्नुपर्ने कामहरु अलगअलग राख्दै सुझाव दिएका हुन्। सुझावमा धितोपत्र बोर्डले पुँजीबजारसँग सम्बन्धित ऐन कानुनहरू संशोधन गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम गर्नुपर्ने र पारदर्शी रुपमा मौर्जिन लेन्डिङ गर्ने व्यवस्थाको तत्काल नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ।
लगानीकर्ताले बजारको दायरा फराकिलो बनाउनको लागि गैर आवासीय नेपालीहरूलाई विनाशर्त दोस्रो बजारमा लगानी गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने, लगानीकर्तालाई मर्का पर्ने गरी कुनै पनि कम्पनीको आइपीओ प्रिमियम र बुकवेल्डिङ माध्यमबाट जारी गर्नुभन्दा पहिले त्यो कम्पनीको पूर्ण वस्तुस्थिति कम्पनीको दायित्व कम्पनीले दिन सक्ने प्रतिफल दिइरहेको प्रतिफललाई गणना गर्नुपर्ने र निर्देशिका तयार गर्दा लगानीकर्ताको हितमा गर्नुपर्ने लगानीकर्ताको माग छ।
कुनै पनि कम्पनीको राइट सेयर जारी गर्दा कम्पनीको पूर्ण वस्तुस्थिति र उसको बिजनेस प्लान, विगतको ट्र्याक रेकर्ड हेरेर मात्र स्वीकृत गर्ने व्यवस्था गर्नुपर्ने, निश्चित मापदण्ड बनाई प्राविधिक विश्लेषकको लाइसेन्स जारी गर्नुपर्ने, कम्पनीहरुको सञ्चालकहरूको नियुक्ति गर्दा स्वार्थ नबाजिने गरी पारदर्शी रुपमा नियुक्ति गर्नुपर्ने व्यवस्था लागू हुनुपर्ने विषय पनि लगानीकर्ताले सुझावमा उल्लेख गरेका छन्।
लगानीकर्ताको सुझाव बुझ्दै अध्यक्ष श्रेष्ठले लगानीकर्ताको हितमा रहेर काम गर्ने प्रतिक्रिया दिएका छन्। आफ्नो पहिलो प्राथमिकता लगानीकर्ताको हित भएकाले आगामी दिनमा बजारका विषयमा थप बुझ्दै र काम गर्दै अघि बढ्ने आश्वासन अध्यक्ष श्रेष्ठले दिएका हुन्। लगानीकर्ताको सुझावलाई सकरात्मकरुपमा लिएको र अध्ययन गरेर काम अगाडि बढाउने अध्यक्ष श्रेष्ठको भनाइ छ।
यस्तो छ सुझाव: