क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई मंसिर १३ गते काठमाडौं ल्याइएको हो। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनबारे सोधपुछ गर्न रविलाई मंसिर १४ मा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ। मंसिर ९ गते रविलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो।
अन्तःशुल्क स्टिकर खरिद अनियमितता प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गत असार ९ मा विशेष अदालतमा दायर मुद्दामा सजाय निर्धारणको फैसला भएको छ। विशेष अदालतले मुद्रण सुरक्षण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र ३ करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिमाना तथा सोही रकम बराबरको बिगो रकम भराउन मंसिर १३ मा आदेश दिएको हो। पौडेल र श्रेष्ठ गत कात्तिक १४ मा अन्तःशुल्क प्रकरणमा दोषी ठहर भइसके पनि मंसिर १३ मा विशेष अदालतले सजाय फैसला सुनाएको हो। अख्तियारले गत असार ९ मा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल, पौडेललगायत गरी १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
सरकारले मंसिर १० मा नेपाल धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ। १ वर्षदेखि नेतृत्वविहीन बोर्डमा नियुक्त श्रेष्ठले मंसिर ११ मा अर्थमन्त्री विष्णुप्रसाद पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। नवनियुक्त अध्यक्ष श्रेष्ठले अवरुद्ध आईपीओ निष्कासन छिट्टै सुरु गर्ने र नयाँ स्टक एक्सचेन्ज अनुमतिका विषयमा सरकारसँगको छलफलबाट अघि बढ्ने बताए।
सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५८५ रुपैयाँ निर्धारण गरेको छ। मंसिर १३ को मन्त्रिपरिषद् बैठकले गत वर्षभन्दा २० रुपैयाँ वृद्धि गरी उखुको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। गी (उखु मिलले किसानलाई उपलब्ध गराउने रकम प्रतिक्विन्टल ५८५ रुपैयाँ पु¥याइएको हो। सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको वर्तमान व्यवस्था यथावत् राख्दै मंसिर १४ मा समीक्षा सार्वजनिक गरेको हो। राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्नुपर्ने कानुनी व्यवस्था छ। चालू आर्थिक वर्षक पहिलो त्रैमासको समीक्षामा सबै पुरानै व्यवस्था यथावत राखेर सार्वजनिक गरिएको छ। समीक्षामा मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंकलाइन विवादमा बक्यौता नतिर्ने उद्योगको बिजुली नकाट्ने निर्णय गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा मंसिर १२ मा बसेको बैठकले उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो। विद्युत् नियमन आयोगले मंसिर ११ गते चारबुँदे पत्र पठाउँदै उद्योगमा बिजुली नकाट्न भनिसकेको थियो।
यो साता सेयर बजारमा ६८ अंकको वृद्धि भएको छ। साताको पाँच कारोबार दिनमा तीन दिन बढेर दुई दिन घट्दा ६८ अंकको वृद्धिका साथ सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७४८.०५ बिन्दुमा रोकिएको छ। गत साताको चार कारोबार दिनमा भने नेप्से दुई दिन घटेर दुई दिन बढ्दा ६८ अंकको गिरावटका साथ २६८०.४४ बिन्दुमा सीमित भएको थियो। यस साता नेप्सेमा कुल ३८ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता नेप्सेमा कुल ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। अघिल्लो साता भने ४६ अर्ब बढीको कारोबार भएको थियो।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का खुलाएको छ। एमसिए नेपालले मंसिर १२ गते लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा, रातमाटे–न्यू दमौली र न्यू दमौली–न्यू बुटवल गरी ३ वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइन निर्माणका लागि ठेक्का खुलाएको हो। निर्माण कम्पनीले २०८१ माघ १७ सम्म आवेदन दिन सकिनेछ। अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको समीक्षापछि पुनः ठेक्का आह्वान गरिएको एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट बताए।