काठमाडौं। उपयुक्त घरजग्गा खोजीमा रहेकालाई ध्यानमा राख्दै लिजेन्ड प्रोपर्टीले काठमाडौंसहित विभिन्न ६ स्थानमा जग्गा विकास परियोजना निर्माण गरी बिक्री वितरण सुरु गरेको छ। सरकारी मापदण्ड पूरा गर्दै एउटै छानामुनि सबै प्रकारका सेवासुविधा उपलब्ध गराउने उद्देश्यले परियोजना सञ्चालन गरिएको कम्पनीका प्रबन्ध निर्देशक रविन राईले जानकारी दिए।
कम्पनीले निर्माण गरिरहेका आयोजना भक्तपुरको पलाँसे, सिपाडोल, चाँगुनारायण नगरपालिकाको कलामशे, ललितपुर दक्षिणकाली नगरपालिकाको चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन्।
भक्तपुरको पलाँसेमा रहेको रिखेटार पाखो जग्गा विकास परियोजना २८४ रोपनी क्षेत्रफलमा फैलिएको छ, जसको ८४ प्रतिशत जग्गा बिक्री भइसकेको छ। सिपाडोलको भाइरल जग्गा विकास परियोजना करिब ५०० रोपनीमा फैलिएको छ, जहाँ ७४ प्रतिशत जग्गा बिक्री भइसकेको छ।
चाँगुनारायण नगरपालिकाको कलामशे जग्गा विकास परियोजना सरकारी प्रक्रिया पूरा गरी बुकिङका लागि खुला गरिएको छ। यो आयोजना ७० रोपनीमा फैलिएको छ।
त्यसैगरी, दक्षिणकाली नगरपालिकाको चाङ्लाखेलमा निर्माणाधीन परियोजना सरकारी प्रक्रियाको अन्तिम चरणमा रहेको छ। यो आयोजनाले ६४ रोपनी क्षेत्रफल समेटेको छ।
काभ्रेको बालुवामा रहेको नयाँगाउँ जग्गा विकास परियोजना करिब २५० रोपनीमा फैलिएको छ र हाल स्वीकृति प्रक्रियामा छ। कास्कीको पोखरामा पनि एउटा पर्यटकीय परियोजना विस्तारको चरणमा रहेको कम्पनीले जनाएको छ। कम्पनीका ६ आयोजना गरी कुल २,१६३ घडेरी रहेका छन्। घडेरीको मूल्य हालसम्म सार्वजनिक गरिएको छैन। उपलब्ध घडेरी ५ आनादेखि माथिको क्षेत्रफलमा रहेका छन्।
सरकारी मापदण्डको पूर्ण पालना
‘लिजेन्ड प्रोपर्टीले आफ्ना आयोजना सरकारको उपत्यका विकास प्राधिकरणबाट स्वीकृत गरी खरिद बिक्री गर्दै आएको छ’, प्रबन्ध निर्देशक राईले भने, ‘जग्गा विकास आयोजनामा आफ्ना जग्गासँगै स्थानीय जग्गाधनीलाई पनि सहभागिता गराउँदै आएका छौं।’ सरकारी मापदण्ड पूरा गर्दै सहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र स्थानीय निकायसँग समन्वय गरी आयोजना अघि बढाइएको कम्पनीले बताएको छ।
सस्तो ऋणका लागि नबिल बैंकसँग सहकार्य
ग्राहकलाई सस्तो र सुलभ ब्याजदरमा छिटो प्रक्रियाबाट ऋण उपलब्ध गराउन लिजेन्ड प्रोपर्टीले नबिल बैंकसँग सम्झौता गरेको छ। बैंक खोज्ने झन्झट टार्न सहुलियतपूर्ण ब्याजदरमा ऋण दिन कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। बिहीबार नबिल बैंकका रिटेल हेड चाँदनी श्रेष्ठ र कम्पनीका प्रबन्ध निर्देशक राईले सहमतिपत्रमा हस्ताक्षर गरे।
सरोकारवालाको सहभागिता
प्रबन्ध निर्देशक राईका अनुसार नयाँ प्रविधिबाट विस्तृत प्राविधिक सर्वेक्षण गर्दै योजनाबद्ध रूपमा परियोजना सञ्चालन गरिनेछ।उनले भने, ‘केवल जग्गा मात्र विकास गर्दैनौं। स्थानीय क्षेत्रको समग्र विकासलाई पनि प्राथमिकतामा राख्छौं।’
कम्पनीले ग्राहक चाहना, भविष्यको सहरी विकास, सौन्दर्य र वातावरणीय अवस्थालाई ध्यानमा राख्दै जग्गा विकास आयोजना अघि बढाएको छ।