काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताएका छन्।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीनदिने प्रदर्शनी उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले निजी क्षेत्रको सहकार्यबिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने धारणा व्यक्त गरे।
उनले पछिल्लो समय आर्थिक सूचकांकमा सुधार देखिएको उल्लेख गर्दै पुँजीबजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए। मन्त्री भण्डारीले भने, ‘पुँजीबजारलाई बढाउनुपर्नेछ, स्वदेशी उत्पादन बढाउनुपर्नेछ, व्यापार घाटा न्यून गर्नुपर्नेछ,नवीनतम प्रविधि भित्र्याउनुपर्नेछ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रासामु छन्।’
उनले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताए। स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उनको भनाइ छ।
नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उनले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गरे। ‘सरकार मेरो छ, म उद्योग चलाइरहेको छु, सरकार साथमा छ भन्ने महसुस अहिलेको सरकारले गराउन खोजेको छ’, मन्त्री भण्डारीले भने।
सेवा प्रवाहको क्षेत्र र उत्पादनका क्षेत्रमा रहेका जटिलता हटाउन सरकारले पहलकदमी थालेको उनले बताए। उद्योग मन्त्रालयमा सुधारका कार्य गर्न पहल भइरहेको उनले जानकारी गराए। उनले छिट्टै लगानीका क्षेत्रमा देखिएका समस्या सुधारका लागि वर्तमान सरकारले पहलकदमी अगाडि बढाउने बताए।
सरकारले वित्तीय क्षेत्र, लगानीकर्ता, कूटनीतिक निकायका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित व्यावसायिक सम्मेलन गर्ने मन्त्री भण्डारीको भनाइ छ।