काठमाडौं। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियो इन्जिनियरिङ क्षेत्रमा धेरै चुनौती रहेको बताएका छन्।
काठमाडौंमा बिहीबारबाट सुरु भएको दिगो पूर्वाधारका लागि जियोटेक्निक्स अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै मन्त्री सिंहले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपले प्रभाव पारेको चर्चा गर्दै जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन्।
‘नेपालमा भूकम्प, बाढीपहिरोले कति धेरै असर पारेको छ। यसका साथै जलवायु परिवर्तन र ग्लोबल वार्मिङले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियो इन्जिनियरिङ क्षेत्रमा धेरै चुनौती छन्। सम्मेलनको उद्देश्य दिगो पूर्वाधारका लागि जियोटेक्निक्सको प्रयोग रहेको छ। यो नेपालको सन्दर्भमा अत्यन्तै सान्दर्भिक छ।’
विकासोन्मुख राष्ट्रको रुपमा नेपाल प्राकृतिक घटना मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, खराब इन्जिनियर संरचनाहरू, र अपर्याप्त डिजाइन मापदण्ड तथा निर्माण प्रविधिको कारणले पनि पीडित भइरहेको पनि उनले बताए।
‘आशा छ, यो अन्तर्राष्ट्रिय सम्मेलनले हाम्रा युवा, अभ्यासकर्ता भू–प्राविधिक इन्जिनियर एवं भू–वैज्ञानिकलाई विश्व प्रविधि, दिगो विकासबारे जान्न उपयुक्त मञ्च प्रदान गर्छ,’ उपप्रधानमन्त्री सिंहले भने।
शुक्रबारसम्म चल्ने सम्मेलनमा २५ बढी देशका १५० बढी अन्तर्राष्ट्रिय प्रतिनिधि र ३ सय बढी सहभागी छन्। सम्मेलनमा १५ प्रमुख वक्ता, १६ विशिष्ट वक्ता, ९० बढी प्राविधिक पत्र प्रस्तुत हुने आयोजक नेपाल जियोटेक्निलकल सोसाइटीका अध्यक्ष मन्दीप सुवेदीले जानकारी दिए।