काठमाडौं। लगातारको तीन दिनको बढोत्तरीपछि नेप्सेमा गिरावट आएको छ। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजर सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अंकले घटेर २७४८.०५ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ३९.७० अंकले बढेर २७५६.३६ बिन्दुमा पुगेको थियो। यसअघि, मंगलबार नेप्से ३३.४१ अंकले बढेको थियो भने सोमबार १५.८३ अंकले बढेको थियो।
बिहीबार नेप्सेमा कुल ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बुधबार भने कुल ९ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएकामध्ये ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ।
बिहीबार बिशाल बजार कम्पनी र वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
यस्तै, मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। आज बैंकिङ समूहको सेयर मूल्य ०.८७ प्रतिशत, फाइनान्स समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशत र जलविद्युत समूहको सेयर मूल्य १.५८ प्रतिशतले घटेको छ।
लगानी समूहको सेयर मूल्य ०.८७ प्रतिशतले घट्दा उत्पादन समूहमा ०.८६ प्रतिशत, लघुवित्त समूहमा ०.६२ प्रतिशत र निर्जीवन बिमा समूहमा ०.५४ प्रतिशतको गिरावट आएको छ।
बिहीबार विकास बैंक समूहको सेयर मूल्य १.०५ प्रतिशतले बढ्दा जीवन बिमा समूह ०.४७ प्रतिशत र व्यापार समूह ९.२५ प्रतिशतले बढेको छ।