अन्तर्राष्ट्रिय ब्रान्डको विश्वव्यापी पहुँच, सञ्चालन पद्धति, ज्ञान र बुझाइ, सुरक्षा मापदण्ड तथा विश्वसनीयता आन्तरिक एवं बाह्य दुवै स्तरका पर्यटकका लागि स्थापित छन्। यसमा पक्कै पनि आन्तरिक पर्यटनले ठूलो हिस्सा थपेको छ। अहिलेसम्मको हाम्रो अनुभवमा अन्तर्राष्ट्रिय चेन जुन देशमा सञ्चालित भए पनि स्थानीय अनुभवलाई उनीहरूले समायोजन गर्नुपर्छ। यस क्रममा स्वास्थ्य र सुरक्षा, सरसफाइ र स्वच्छता तथा सेवाका मापदण्डसँग सम्झौता गर्न भने मिल्दैन। अन्तर्राष्ट्रिय सेवा प्रणालीका साथै स्थानीय संस्कृति, अनुभव र ज्ञानलाई पनि समायोजन गरिनुपर्छ।
नेपाल भित्रिएका सबै ब्रान्डले पनि यही गरिरहेका छन्। यो क्रम संसारभरि नै छ। मैले थाइल्यान्ड, इन्डोनेसिया, क्यारेबियन, अफ्रिका, श्रीलंका, भारतलगायत थुप्रै ठाउँका होटलमा काम गरिसकेको छु। यी सबै ठाउँमा के हुन्छ भने चाहे जहाँसुकैका ब्रान्ड आउन्, तिनलाई आफ्नो सौन्दर्य, संरचना निर्माण, सूचना प्रविधि प्रणाली र सरसफाइ तथा स्वच्छतालगायतलाई एकरूपता दिनुपर्छ भन्ने बुझेरै सुनिश्चित गरेका छन्। यसमा उनीहरू सम्झौता गर्दै गर्दैनन्।
जहाँसम्म खानपिन र वेलनेस (सुस्वास्थ्य) को कुरा छ। मैले देखेको के भने नेपालमा अहिलेसम्म सेवा वा उत्पादनको हिसाबले वेलनेसको सम्भावनालाई खासै महत्त्व दिइएको पाइएको छैन। वेलनेस टुरिजम वर्तमान समय संसारभरि दु्रत गतिले बढिरहेको पर्यटन क्षेत्र हो। तर, यसमा अहिलेसम्म हाम्रो ध्यान पुग्न सकेको छैन। हामीसँग योगा, हर्बल, आयुर्वेदलगायत प्राचीन वेलनेसका उत्पादन छन्, जुन उपेक्षित भइरहेका छन्। यद्यपि नेपालमा धेरै संख्यामा अन्तर्राष्ट्रिय ब्रान्ड आइरहेकाले त्यतातिर पनि प्रवेश गर्नेछांै। हाम्रोजस्तो प्रकृति, संस्कृतिको वरदान भएको देशले खोज्नुपर्ने भनेको ‘हाई भ्यालु टुरिजम’ नै हो।
पछिल्लो समय आन्तरिक पर्यटन महत्त्वपूर्ण बन्दै गए पनि हामीले स्थानीय बजार बिर्सिरहेका छांै। हाम्रो ‘माइस मार्केट’ बृहत् बजार असाध्यै ठूलो छ। माइसको दृष्टिकोणले तालिम, सेमिनार, कार्यशाला, डेस्टिनेसन, वेडिङलगायत हिसाबले पनि स्थानीय बजार बढेको पाइन्छ। यसमा ब्रान्ड सेवाको गुणस्तरले पनि आकर्षित गरिरहेको हुन्छ। यो सम्भावनाकै कारण ठूला अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा हुन थालेका छन्। चेन ब्रान्डसँग पहुँच र विश्वसनीयता भएकाले नेपालमा आकर्षित गर्न आवश्यक छ। स्थानीय पर्यटनको दृष्टिकोणले हेर्दा पछिल्लो पाँच वर्षमा उल्लेख्य वृद्धि भएको देख्न सकिन्छ।
धुलिखेलमा हामीले विलासी होटल सञ्चालन गरिरहेका छांै। जतिबेला हामीले यसमा लगानी ग¥यांै र सञ्चालनमा ल्यायांै। ८० प्रतिशत अन्तर्राष्ट्रिय र २० प्रतिशत मात्र आन्तरिक पाहुना यहाँ आउनेछन् भन्ने अनुमानमा थियौं। यसको कारणचाहिँ भौतिक पूर्वाधार चुनौती नै हो। हाम्रो व्यावसायिक योजना पनि यही आकलनअनुसार बनेको थियो। तर, पछिल्लो एक वर्षे व्यापार अवस्था हेर्दा हाम्रो आकलन गलत सावित भएको छ।
पूर्वाधार हाम्रो एक मात्र सबैभन्दा ठूलो चुनौती हो। नभए ५० लाख पर्यटक भित्र्याउने घोषणा अति न्यूनतम लक्ष्य हुन सक्थ्यो। थाइल्यान्डले चार करोड पर्यटक ल्याइरहेको छ। आतंकवाद, कोभिड, हालैको आर्थिक संकटबाट बाहिर निस्किएर पनि श्रीलंकाले २५ लाख पर्यटक भित्र्याइसकेको छ। हामी यो संख्याको कहिल्यै पनि नजिक आउन सकेका छैनाैं। यसैले देखाउँछ हाम्रो दयनीय अवस्था। सबैको संयुक्त पहलबाट जति हासिल गरेका छाैं, त्यसप्रति गर्व गर्ने ठाउँ छँदै छैन। तर, सुधार र वृद्धि गर्न हामीसँग पर्याप्त ठाउँ छ। यो हिसाबले यतिखेर आन्तरिक पर्यटनमा उल्लेखनीय वृद्धि भएको छ। पूर्वाधारमा जति वृद्धि हुन्छ, त्यसको लाभ हामीले पर्यटन क्षेत्रमा हुने बढोत्तरीबाट पाउन सक्छाैं।
होटल क्षेत्रलाई वृद्धि गर्न देशहरूले कसरी योजना बनाउँछन् भन्ने विषयमा एउटा उदाहरण दिन चाहन्छु। जस्तो, थाइल्यान्डमा राजनीतिक अस्थिरता र गतिरोधको बाबजुद व्यवसाय र अर्थतन्त्रमा केही असर परेन। इस्टर्न इकोनोमिक करिडोर भनेर उनीहरूले नयाँ ‘इकोनोमिक इन्सेन्टिभ’ ल्याए, जसमा सरकारले ७ खर्ब डलरभन्दा बढी लगानी गरिरहेको छ।
यो योजनाअन्तर्गत बैंककाे इस्टर्न बेल्टमा जहाँ औद्योगिक क्षेत्र छ, त्यहाँ बैंककका दुई विमानस्थल र पतायाको विमानस्थललाई द्रुत रेलमार्गबाट जोडिँदै छ। यसले औद्योगिक क्षेत्र, बन्दरगाहाको पनि स्तरोन्नति गर्ने र पर्यटन एवं बैंककको सहरी जनसंख्याको चापलाई यतातिर लैजाने गरी दुई सहरबीचको मिलान गराउन खोजेको देखिन्छ। यो परियोजनामा जब त्यहाँको सरकारले योजना बनायो, असाध्यै स्पष्ट विचार प्रक्रिया थियो। यो विषय स्थानीय र अन्तर्राष्ट्रिय दुवै व्यावसायिक जगतसँग सञ्चार गरियो। सबैलाई थाहा भयो– थाइल्यान्डको पूर्वाधार यति वर्षभित्र यो गुणस्तरबाट त्यो गुणस्तरसम्म पुग्छ भनेर। त्यहाँ यदि कुनै विकास पाँच वर्षभित्र हुनुपर्नेछ भने ठ्याक्कै पाँचै वर्षभित्र हुनुपर्छ र हुन्छ पनि। तर, हाम्रोमा पाँच वर्षभित्र सक्ने योजना गरिन्छ तर सकिन २५ वर्ष लाग्छ। यसबाटै थाहा लाग्छ– व्यापार क्षेत्रमा यसको कस्तो असर हुन्छ भनेर।
जत्ति पनि विदेशी ब्रान्ड नेपाल आइरहेका छन्। सबैजसो काठमाडाैं केन्द्रित छन् भनिन्छ। त्यसका लागि राज्यले नै पहल गर्नुपर्ने हो। सडक पूर्वाधार निर्माण असाध्य धीमा गतिमा छ। उपत्यकाबाहिर जाने हामी सबैभन्दा पहिलो ब्रान्ड हाैं। जोखिम मोल्ने क्षमता देखाइसकेका छाैं।दुसित थानी लक्जरियस ब्रान्डमध्येकै हो। दूरीको हिसाबले २ घन्टाजतिमा पुग्न सकिने हुनाले यसलाई धेरै टाढा भन्दिँन। जम्माजम्मी ४० किमिभन्दा कम दूरीमा छ। तर, दुर्भाग्यवश, हामीसँग पूर्वाधारको जुन अभिशाप छ, त्यसले त्यहाँ (काभ्रे) पुग्न डेढ घन्टाभन्दा बढी समय लाग्छ, कहिलेकाहीँ दुई घन्टा नै लाग्छ। भारतको कुरा गर्ने हो भने ४० किमि पार गर्न मुस्किलले ३० मिनेट जति लाग्न सक्छ।
पूर्वाधार अभावकै कारण अन्तर्राष्ट्रिय ब्रान्ड उपत्यकाबाहिर जान डराएका हुन्। सेवाको कुरा गर्नेबित्तिकै खानाको कुरा आउँछ, आपूर्ति चक्र र मूल्यको कुरा आउँछ। पूर्वाधार भनेको यी सबै चीजका लागि सबैभन्दा ठूलो निर्धारकको रूपमा आउँछ, सबै चीज यसैमा गएर जोडिन्छ।
काठमाडांै बाहिर एउटा मात्र भए पनि महत्त्वपूर्ण ब्रान्ड पुगिसकेको हुँदा अन्य ब्रान्डले पनि त्यसमा महत्त्व देख्न थालेका छन्। गन्तव्यको विकास आफंैमा उत्साहजनक हुन्छ। सोही कारण नगरकोटतिर पनि अहिले अन्तर्राष्ट्रिय ब्रान्ड आउन खोजेको सुनिन्छ। पोखरा, चितवनमा पक्कै जानेछन्। चितवनमा त पहिल्यै ताज पुगिसकेको छ, मेघौलीमा। त्यसकारण हामीले पूर्वाधारलाई अलिकति सुधार्न सक्याैं भने हालको अवस्थामा परिवर्तन आई विदेशी ब्रान्ड उपत्यकाबाहिर जान थाल्नेछन्।
हवाई यात्रालाई कसरी सस्तो बनाउने भन्नेमा काम गर्नुपर्छ। नेपाल हवाई यात्राका रूपमा महँगो गन्तव्य बन्दै गएको छ। पूर्वाधार राम्रो भए लक्जरियस् टुरिस्टका लागि समस्या थिएन। मास टुरिजम् खोजिरहेका छाैं, किनकि लक्जरी टुरिस्टलाई लक्षित गर्न हामीसँग त्यो किसिमको पूर्वाधार छैन। त्यसैले हामीले लक्ष्य लिएको पर्यटनका लागि हवाई भाडा कम हुनुपर्छ। त्रिभुवन विमानस्थल आगमनमा जुन तरिकाको व्यवहार छ, त्यसलाई बन्द गर्नुपर्यो। यदि चोरीपैठारीकै विषय हो भने हजाराैंमा एक–दुई जनाको कुरा होला। त्यसका लागि किन हजाराैंले सास्ती भोग्ने?
यसमा एउटा उदाहरण दिन चाहन्छु। हामी सिंगापुर गएका छाैं। सिंगापुरले हरेक वर्ष ४ करोड बढी पर्यटक भित्र्याउँछ। तर, त्यहाँको अध्यागमनमा कहिल्यै दुई मिनेटभन्दा बढी समय लाग्दैन। उनीहरूले कसरी गरिरहेका छन्? उनीहरूलाई पनि डर होला–हाम्रो देशमा चोरीपैठारी वा प्रतिबन्धित सामग्री वा लागूऔषध आउँछ भनेर। तर, उनीहरूले प्रोफाइलिङ गर्छन्, इन्टेलिजेन्स गर्छन्। उनीहरूले सबै पर्यटकलाई सम्मान गर्छन् र जहाँ शंका लाग्छ, त्यहाँ मात्रै आवश्यक जाँचपड्ताल गर्छन्। त्यसैले यस विषयमा हामीले पनि साँच्चै काम गराैं।