काठमाडौं। गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवामन्त्री बिन्दुकुमार थापाले पोखरा इन्ड्युरो रेसजस्तो साहसिक खेलले यस क्षेत्रको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन्।
पोखरा महानगर–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘पोखरा–१३ मा आयोजित इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताले नेपाली र अन्तर्राष्ट्रिय स्तरका साहसी खेलाडीलाई एउटै मञ्चमा ल्याई साहस, सहकार्य र प्रतिस्पर्धाको भावना उजागर गरेको छ’, उनले भने।
मन्त्री थापाले यस्ता गतिविधिले पोखराको प्राकृतिक सौन्दर्यलाई विश्वभर फैलाउन मात्र नभई स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। पोखरालाई खेलकुद र साहसिक पर्यटनको केन्द्र बनाउन उक्त प्रतियोगिता निरन्तर भइराख्नुपर्ने धारणा उनको छ।
पोखराको मात्र नभई समग्र देशको साहसिक पर्यटन प्रवर्द्धनमा यस्ता प्रतियोगितामार्फत टेवा पुग्ने उनको धारणा छ। पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले समेत लगानी गरिरहेको र आगामी समय पनि सहकार्य समर्थन गर्न तयार रहेको उनले जानकारी दिए।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई समेत प्राथमिकतामा राख्न उनको आग्रह छ।
पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा–१३ मा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए। आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिन र वडाको विकासमा योगदान गर्न आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता उनको छ।
प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी मंसिर १२ देखि १४ गतेसम्म चल्नेछ।