काठमाडौं। पाँचतारे लक्जरी होटल र अपार्टमेन्ट निर्माण गरिरहेको समिट ग्रुपमा शर्मा एन्ड कम्पनी साझेदारको रुपमा भित्रिएको छ। समिटकै होटल र अपार्टमेन्ट निर्माणको जिम्मेवारी पाएको शर्मा एन्ड कम्पनी १५ प्रतिशत सेयर स्वामित्व लिएर भित्रिएको हो।
निर्माणको जिम्मेवारीसँगै साझेदारको रुपमा भित्रिएको पुष्टि शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्माले गरेका छन्। ‘केही वर्षदेखि नै होटल निर्माण गरिरहेका थियौं,’ अध्यक्ष शर्माले भने, ‘ग्रुपले मलाई पनि साझेदारको रुपमा आउन अनुरोध गरेपछि सहर्ष स्वीकारेको हुँ।’
कुपन्डोल हाइटमा रहेको समिट होटललाई भत्काएर प्रख्यात व्यावसायिक घराना सीजी, एनई र समिट समूहले ६ अर्ब लगानीमा लक्जरी पाँचतारे होटल र अपार्टमेन्ट निर्माण गरिरहेको छ। शर्मा एन्ड कम्पनीलाई तिनै व्यावसायिक घरानाले पाँच÷पाँच प्रतिशत सेयर दिएका हुन्।
यद्यपि अध्यक्ष शर्माले १५ प्रतिशत सेयर स्वामित्व लिएको जानकारी दिए। १५ प्रतिशत सेयर स्वामित्व लिएको भनिए पनि रकम भने खुलाउन चाहेनन्। निर्माण क्षेत्रको अग्रणी कम्पनीलाई साझेदारको रुपमा भित्र्याउँदा खुसी लागेको एक सञ्चालकले प्रतिक्रिया दिए।
निर्माण जिम्मा पाइरहेको कम्पनीलाई नै साझेदारको रुपमा भित्र्याउँदा कामले तीव्रता पाउने ती सञ्चालकको भनाइ छ। अहिले कम्पनीले दैनिक १८ घन्टाभन्दा बढी काम गर्दै आएको छ। होटल फाउन्डेसनको काम सकिइसकेको र बाँकी कामले तीव्रता पाउने अपेक्षा ती सञ्चालकको छ।
पछिल्लो समय शर्मा एन्ड कम्पनीले निर्माणसँगै हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ। आइएमई ग्रुपसँग मिलेर मौलाकालिका केबलकार सञ्चालन गरिरहेको छ भने अहिले होटल र अपार्टमेन्टमा समेत साझेदार बनिसकेको छ।
यस्तो हुनेछ होटल र अपार्टमेन्ट
द समिट होटल एन्ड रेसिडेन्सी निर्माणाधीन छ। ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त परियोजना आगामी सन २०२६ मा पूरा गर्ने तयारी छ।
होटल र अपार्टमेन्ट डिजाइन सिंगापुरको आर्किटेक्ट कम्पनी मेनहार्ड इन्फ्रास्ट्रक्चर पिटिई लिमिटेडले गरेको हो। राजधानीको मध्यभागमा रहेकाले अपार्टमेन्ट लक्जरियस र प्रिमियम हुनेछ। उच्च वर्ग लक्षित अपार्टमेन्ट बनाउन लागिएको हो।द समिट होटल एन्ड रेसिडेन्सेस १३५ कोठासहितको पाँचतारे होटल बन्नेछ। होटल परिसरभित्रै ११६ युनिट अपार्टमेन्ट टावर बन्नेछन्। यसमध्ये ९२ युनिट स्ट्यान्डर्ड र बाँकी लक्जरियस किसिमका अपार्टमेन्ट टावर बन्नेछ। सानेपामा रहेको समिट होटल १८ रोपनीमा फैलिएको छ।
होटल समिटमा आइजे ग्रुप अध्यक्ष रविभक्त श्रेष्ठ, सीजी अध्यक्ष विनोद चौधरी र अमृतरत्न शाक्यको संयुक्त लगानी छ। आइजे र सिजीले आर एन्ड आर हेरिटेज कम्पनी स्थापना गरेका थिए। सोही कम्पनीका नाममा २०७१ चैतमा होटल समिटको ६० प्रतिशत स्वामित्व खरिद गरेका हुन्। बाँकी ४० प्रतिशत सेयर शाक्यको छ।
७३ कोठामा सञ्चालित चारतारे समिट सन् १९७९ मा स्थापना भएको थियो। पाँचतारे होटलसहितको लक्जरी अपार्टमेन्ट खर्चालु पर्यटकदेखि नेपालको धनाढ्य वर्ग लक्षित छ।
होटलमा बस्न आउने पर्यटकले पनि अपार्टमेन्ट भाडामा लिन सक्नेछन्। सर्भिस अपार्टमेन्ट लामो समय बस्ने खर्चालु पर्यटक लक्षित गरी सञ्चालन गर्न लागिएको हो। परियोजनाको भवन मुलुककै सबैभन्दा सुविधासम्पन्न हुने दाबी गरिएको छ।