सर्लाही। उखुयाम सुरु भएसँगै यहाँका चिनी उद्योग सञ्चालन तयारी जुटेका छन्। जिल्लामा तीन वटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम सुरु गरिसकेको हो। लामो समय किसानको उखुको भुक्तानी नदिएर विवादग्रस्त बनेको सर्लाहीको धन्कौल चिनी उद्योग अहिले उखु तान्ने काममा व्यस्त देखिन्छ।
२०७४ अघिको उखुको भुक्तानी किसानलाई नदिएपछि उद्योग सञ्चालन गर्न रोक लगाइएको थियो। २०७९ मा नयाँ उद्योगीको पहलपछि केही किसानले पुरानो भुक्तानी पाएपछि उद्योग सञ्चालन भएको हो। २०७८ देखि ‘क्रसिङ’ याममा उद्योगले पुनःक्रसिङ गर्न सुरु गरेको थियो।
क्रसिङ यामको अन्तिममा सञ्चालनको प्रयास गरेको उद्योगले उपकरणमा आएको खराबीका कारण लगभग ६८ हजार क्विन्टल मात्र क्रसिङ गरेको थियो । यस वर्ष भने मंसिर पहिलो सातादेखि क्रसिङ गरेर उद्योगले किसानको भरोसा बटुल्ने प्रयास गरिरहेको छ।
लामो समय पूरा क्षमतामा सञ्चालन हुन नसकेको अन्नपूर्ण प्राविधिक समस्याका कारण पटकपटक बन्द हुँदै सञ्चालन भइरहेको छ। मंसिर ६ गते रातीदेखि क्रसिङ सुरु गरेर चार दिनमा २६ हजार आठ सय ७१ क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका प्रबन्धक शैलेन्द्र गुप्ताले जानकारी दिए। तीन वटा चिनी उद्योग रहेको जिल्लामा अन्यले सञ्चालनको तयारी गर्दैगर्दा अन्नपूर्णले क्रसिङ सुरु गरेको हो।
यसअघि उत्पादित उखु इन्दुशंकर चिनी उद्योग हरिवन, गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहमा दिइने गरेको थियो। जिल्लाका अन्य उद्योगले अहिले कटानी भएको उखुको चिनी राम्रो नपर्ने भन्दै उद्योग सञ्चालनमा ढिलाइ गरिरहँदा अन्नपूर्णले किसानको मन जित्न समय अगावै उद्योग सञ्चालनमा ल्याएको हो।
महालक्ष्मी चिनी उद्योगले यो यामका लागि क्रसिङ सुरु गरेको उद्योगका प्रबन्धक पवनकुमार सिंहले जानकारी दिए। यस वर्ष १८ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको प्रबन्धक सिंहले बताए।
जिल्लामा रहेका तीन उद्योगमध्ये अन्नपूर्ण र महालक्ष्मीले यो यामका लागि क्रसिङ सुरु गरे पनि इन्दुशंकर चिनी उद्योगले अन्तिम तयारी पूरा गरेको जनाएको छ। उद्योगले मंसिर अन्तिम सातादेखि क्रसिङ सुरु गर्ने तयारी गरेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए।-रासस