काठमाडौं। रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता भएको छ।
आज आयोजित कार्यक्रममा भण्डारण क्षमता वृद्धि परियोजनाका मुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी विभाग प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डिपिआर तयार गर्नेछ। डिपिआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मंसिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए।
यसअघि निगमले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डिपिआर निर्माण गर्न गत साता पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरेको थियो।
भैरहवा–बुटवल मुख्य राजमार्गसँग जोडिएको करिब साढे पाँच बिघा जमिनमा हालको लुम्बिनी प्रादेशिक कार्यालय छ। यहाँ पाँच सय १९ किलोलिटर पेट्रोल, तीन हजार ४० किलोलिटर डिजेल र एक सय ४० किलोलिटर मट्टीतेल भण्डारण क्षमताका ट्यांकर छन्।
भलवारी डिपोमा जग्गा अभावका कारण ट्यांकरलाई यथेष्ट पार्किङ स्थल उपलब्ध गराउन नसक्दा सडकमै रोक्नुपर्ने बाध्यता रहेको यादवको भनाइ छ।
डिपो स्थानान्तरण गर्नुपर्ने स्थानीयको दबाब र बढ्दो पेट्रोलियम खपतलाई सम्बोधन गर्न रोहिणी खोला किनारमा नयाँ डिपो निर्माण गर्न लागिएको निगमले स्पष्ट पारेको छ। निगमले चालू आवको नीति तथा कार्यक्रम र बजेटमा रोहिणी नदी किनारमा रहेको करिब २१ बिघा जमिनमा आधुनिक डिपो निर्माण गर्ने उल्लेख गरेको छ।
अब बन्ने डिपोमा डिजेल भण्डारणका लागि तीन हजार किलोलिटर क्षमताको तीन ठूलो भर्टिकल ट्यांकी निर्माण गरिनेछ। पेट्रोल भण्डारणका लागि दुई हजार दुई सय ८० किलोलिटर र मट्टीतेल भण्डारणका लागि पाँच सय किलोलिटरको ट्यांकर निर्माण हुनेछ।