काठमाडौं। भारतीय बजारमा महिन्द्राले बीई–६ई मोडल सार्वजनिक गरेको छ। कम्पनीले १८ लाख ९० हजार रुपैयाँ मूल्य निर्धारण गरी बीई–६ई मोडल भारतीय बजारमा सार्वजनिक गरेको हो।
महिन्द्राको बीई–६ई इलेक्ट्रीक कुप्पे एसयूभी हो। यसमा फ्लस डोर ह्यान्डल, बडीमा प्रशस्तै एज र एलइडी लाइट प्रयोग भएको छ। महिन्द्राका अनुसार बीई–६ ई इलेक्ट्रिक भर्सनमा मात्रै उपलब्ध हुनेछ।
निकै सार्प लुक्समा देखिएको बीई–६ ई मोडल दुई ब्याट्री अप्सनमा उपलब्ध छ। जसमा ५९ र ७९ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री अप्सन पाउन सकिन्छ। यसमा रहेको ५९ किलोवाट आवरको ब्याट्रीसँग १७० किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीले लङ रेन्ज भेरियन्टमा ७९ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। भने यसमा २१० किलोवाटको मोटर जडान गरिएको छ। दुवै भेरियन्टको टर्क समान ३८० एनएम छ।
यसको लङ रेन्ज रेन्ज भेरियन्टले ५५० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ। एआरएआईका अनुसार महिन्द्रा बीई–६ईले सिंगल चार्जमा ६८२ किलोमिटरसम्म रेन्ज दिनेछ। महिन्द्रा बीई–६ ई ले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्दछ। यसमा प्रयोग भएको लिथियम आइरन फस्फोट ब्याट्री बीवाइडीको ब्लेड टेक्नोलोजीमा आधारित छ।
महिन्द्रा बीई–६ईको लम्बाइ ४३७१ एमएम, चौडाइ १९०७ एमएम र उचाइ १६२७ एमएम छ। यसमा २७७५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ। महिन्द्राले इनग्लो प्लेटफर्ममा तयार पारेको नयाँ कुप्पे डिजाइन एसयूभीमा पृथक लुक्स दिने १९ र २० इन्चको ह्वील अप्सन दिएको छ।
गाडीमा २०७ एमएम अग्लो उच्च ग्राउन्ड क्लियरेन्स छ। बीई–६ईमा ४५५ लिटर क्षमताको बुट स्पेस पाउन सकिन्छ। यसको इन्टेरियर पनि निकै आकर्षक देखिएको छ। १२.३ इन्चका ड्यूल स्कृनको कम्बिनेसन उत्कृष्ट छ। यसको इन्फोटेन्टमेन्ट सिस्टममा ३० भन्दा धेरै एप समावेश छन्।
कम्पनीले ड्राइभिङ मोडको नाम रेन्ज, एभ्री डे र रेस दिएको छ। क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तीव्र गतिमा चलाउन मिल्छ। फ्ल्याटवटम स्टेरिङ ह्वील, मोड सेलेक्टर, वायरलेस चार्जर, पानारोमिक सनरुफ उपलब्ध छ।
हर्मन कार्डनको १६ स्पिकर, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, मल्टिकलर एम्बियन्ट लाइट, ५जी कनेक्टिभिटी, लेभल २ एडास फिचर, ३६० डिग्री क्यामेरा, ७ एयरब्यागजस्ता फिचरले यसलाई अब्बल एसयूभी बनाएको छ।