काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले २९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः ठेक्का खुलाएको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सशक्तीकरण गर्नेछ।
लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा, रातमाटे–न्यू दमौली र न्यू दमौली–न्यू बुटवल गरी ३ वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइन निर्माणका लागि निर्माण कम्पनीले २०८१ माघ १७ सम्म आवेदन दिन सकिनेछ।
अघिल्लो बोलपत्र आह्वान प्रक्रियाको समीक्षापछि पुनः ठेक्का आह्वान गरिएको एमसिए नेपालले जनाएको छ। अहिले आह्वान भएको ठेक्कामा डिजाइन परिमार्जन, टावर निर्माण स्थलमा सहज पहुँच र बोलपत्रदाताको सुझावका आधारमा संशोधित व्यावसायिक प्रावधान समेटिएको एमसिएले बताएको छ।
यी समायोजनले थप कार्यान्वयन योग्य र लागत प्रभावकारी प्रस्तावहरू प्राप्त हुने सुनिश्चित गर्दै अघिल्लो बोलपत्र आह्वानमा पहिचान गरिएका मुख्य लागत निर्धारकलाई सम्बोधन गरेका छन्।
एमसीए–नेपालले बुटवल–गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ। उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ।
एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट भन्छन्, ‘१८ किमि प्रसारण लाइन निर्माणाधीन रहेको र परिमार्जित प्रावधानका कारण बाँकी २९७ किमि प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनीको प्रतिस्पर्धा बढ्नेमा विश्वस्त छौं।’ एमसिए–नेपालले सरकार तथा एमसीसीको वातावरणीय एवं सामाजिक मापदण्ड पालना गर्दै खरिद कार्य र प्रसारण लाइन निर्माण सम्पन्न गर्न लागिरहेको जनाएको छ।