काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ।
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो। सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे।
ओमोडा एन्ड जेक्कोले नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना हुने नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा सह–प्रायोजकको रूपमा साझेदारी गरेको छ। नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेक्कोबीच एनपिएल प्रायोजनको लागि मंसिर ११ गते एमओयु हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपिएलका सदस्यहरू, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति थियो। नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपिएल २०२४ का खेलहरू मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेक्को र एनपिएलबीचको यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पु¥याउने विश्वास व्यक्त गरेका छ्न। उनले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको यो परिदृष्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुर्याउने बताए।
क्रिकेट नेपालमा खेलिने र हेरिने सर्वाधिक लोकप्रिय खेलमध्ये एक हो। जसको माध्यमबाट धेरै नेपाली फ्यानहरू जोडिएका छन्। ओमोडा एन्ड जेक्कोको यस सहकार्यले नेपाली क्रिकेटको विकासमा उल्लेखनीय भूमिका खेल्नेछ। प्रतिभावान नेपाली युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत गर्दै नेपाल क्रिकेट लिगको विकास र सफलतामा योगदान पु¥याउनेछ।