काठमाडौं। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कानुनअनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन माग गरेको छ। महासंघले आज ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’ कार्यक्रम आयोजना गर्दै उक्त माग गरेको हो।
कार्यक्रमका सहभागीले २०७७ मा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दूरीसम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतको आदेशमा मापदण्डलाई लचकता अपनाई पुनःविचार गर्न भने पनि हालसम्म मापदण्ड संशोधन नगरेकाले व्यावहारिक हुने गरी संशोधन गर्न माग गरेको छ।
महासंघका नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले प्रशोधित निर्माणजन्य सामग्री विदेश निर्यात गर्ने व्यवस्था गरी देशलाई आर्थिक लाभ हुने मार्ग प्रशस्त गर्न सरकारसँग अनुरोध गरे।
महासंघको हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा न्यौपाने, वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, क्षेत्रीय उपाध्यक्षमा कोसी प्रदेशबाट रोहितबहादुर कार्की, मधेसबाट रामनारायणप्रसाद यादव, बागमतीबाट देवराज लुइँटेल, गण्डकीबाट लीलाधर बराल र लुम्बिनीबाट मीनबहादुर शाही निर्वाचित भएका छन्। महासचिवमा देवराज तामाङ चुनिएका छन्।
देशभरका सात सय ८० क्रसर बालुवा तथा खानी उद्योगका प्रतिनिधि सहभागी महाधिवेशनमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले क्रसर उद्योगमा देखिएका समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।