काठमाडौं। आइसिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ। स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको हो।
उत्कृष्ट ५ छनोटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो। अवार्डका सेमिफाइनलिष्टले १४ विज्ञ जुरीसमक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुति दिएका थिए।
उनीहरुको प्रस्तुति, इन्नोभेसन, आइडिया र स्टार्टअपबारे कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो समेत प्रसारण भइरहेको छ। उत्कृष्ट ५ मा पर्ने स्टार्टअपमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन्।
यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन्। राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा. फिस, हाइपर्स, स्पीकअप नेपाल र राइट अन एआई परेका छन्।
यसै वर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन्।आइसिटी अवार्डका ४ विधामा ३०० बढीको नोमिनेसन प्राप्त भएको थियो। यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा सेमिफाइनलिष्ट छनोट गरिएका थिए।
उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ। पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिनेछ।
सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने छ। सर्वोत्कृष्टलाई आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिनेछ।
सन् २०१६ बाट लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको यो नवौं संस्करण हो।