काठमाडौं । नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले तेस्रो वार्षिकोत्सव मनाएको छ। २०२१ नोभेम्बर २६ मा स्थापित नबिल एसएसई नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रुपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो।
नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० बढी व्यक्तिले उद्यमशीलता प्रशिक्षण प्राप्त गरिसकेका छन्। ११७ नयाँ उद्यम स्थापना भएका छन्।
कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जनाएको छ।
नबिल एसएसईले नवीन सोच भएका व्यक्तिलाई प्रोत्साहन गर्दै देशभित्रै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकामा खुसी छौं’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘तीन वर्षको अवधिमा देशमा सयौँ मानिसका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग पुगेको ठानेका छौं।’
स्थापनाकालदेखि हालसम्म, नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थासँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिरहेको। त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियू)सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेलाई उत्कृष्ट प्लेटफर्म उपलब्ध गराउँदै आएको छ।
सहभागीले ६ महिने अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप उपलब्ध गराइने संस्थाले जनाएको छ।