काठमाडौं। सरकारले हालै मार्बल, ग्रेनाइट, सुनचाँदी, दाल आयात गर्दाको भन्सार महसुल, अन्तःशुल्क तथा अग्रिम आयकरका दरमा परिमार्जन गर्नु सकारात्मक रहेको मोरङ उद्योग व्यापार संघ विराटनगरले जनाएको छ।
मार्बल र ग्रेनाइटको भन्सार महसुल न्यूनीकरण तथा अन्तःशुल्क खारेज गर्ने सरकारको निर्णयले वर्षौंदेखि बन्द रहेका १७ बढी स्वदेशी मार्बल र ग्रेनाइट उद्योग सुचारु हुने बाटो खुलेको संघका अध्यक्ष अनुपम राठीले मंगलबार विज्ञप्ति निकालेर बताएका हुन्।
सरकारी निर्णयले लगानीकर्ताको ठप्प रहेको पुँजी चलायमान हुने, स्वदेशी उत्पादकत्व अभिवृद्धि हुने, हजारौंले गुमाएका रोजगारी पुनर्जीवित हुने, विद्युत् स्वदेशी खपत बढ्ने तथा मुलुकको औद्योगिकीकरणमा सकारात्मक प्रभाव पर्ने वातावरण सिर्जना भएको संघको ठहर छ।
सुनचाँदीको भन्सार महसुल न्यूनीकरण गरिएपछि ती धातुको स्वदेशी कारोबार फस्टाउने, अवैध कारोबार अन्त्य हुने तथा अनधिकृत पुँजी पलायन खतरासमेत नियन्त्रण हुने विश्वास संघको छ।
यस्तै, दाल आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम आयकरलाई २.५ प्रतिशत कायम गरिनाले उपभोक्तालाई परिरहेको भार न्यूनीकरण गर्न मद्दत पुग्नुका साथै स्वदेशी बजारको प्रवर्द्धन एवं आत्मनिर्भरतालाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने संघले बताएको छ।
नेपाली लगानीकर्ताको संरक्षण गर्ने, स्वदेशी उत्पादकत्व तथा आत्मनिर्भता प्रोत्साहन गर्ने, मुलुकको राजस्व संकलनमा अभिवृद्धि गर्ने, रोजगारी, स्वदेशी बजारलगायत बहुआयामिक अवसर सिर्जना गर्ने गरी सरकारले गरेको निर्णय स्वागतयोग्य भएको संघले जनाएको छ।
आगामी दिनमा समेत मुलुकको खस्कँदो औद्योगिक/व्यावसायिक वातावरण सुधार्न सरकारले यस्तै खाले उद्योग–व्यवसायमैत्री नीति निर्देशन अवलम्बन गर्दै जाने अपेक्षा संघले लिएको छ।