काठमाडौं। मोबाइल सेवाप्रदायक एनसेलको सामाजिक संस्था एनसेल फाउन्डेसनले विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अवसरमा जोन्टा, युएनएफपीए र युनिसेफ नेपालले बालविवाह अन्त्यका लागि सचेतना जगाउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्झौता भएको छ।
कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न सरोकारवालाले बालविवाह अन्त्य र समाधानबारे छलफल गरेको एनसेल फाउन्डेसनले जनाएको छ।
कार्यक्रम उद्घाटन गर्दै जोन्टाका अध्यक्ष बिना रानाले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकामा जोड दिइन्।
उक्त अवसरमा युनिसेफ नेपालकी डेपुटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ कमला विष्ट, कलाकार प्रकाश सपुत र एसडीजी स्टुडियोले शिरमै फुर्के रिबन शीर्षकको संगीत भिडियो सार्वजनिक गरे। यो भिडियो किशोर–किशोरीलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा निर्माण गरेका हुन्।
नेपालमा बालविवाह अझै पनि लैंगिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणका लागि प्रमुख चुनौती बनेको छ। नेपालमा तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले उनीहरुको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्ने गरेको महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले बताए।
महिला नेतृत्वमा रहेका संस्था र महिला सशक्तिकरणका कार्यक्रमहरुले लैङ्गिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन्। यी संस्थाले महिला र किशोरीको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्ने कार्यक्रममा वक्ताहरुले धारणा व्यक्त गरे।
कार्यक्रममा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर विशाखा लक्ष्मी खड्काले एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध रहेको बताइन्। ‘लैंगिक हिंसा अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं। यस किसिमका साझेदारी माध्यमबाट हामी सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणमा काम गर्न चाहन्छौं’, उनले भनिन्।
२०१८ देखि जोन्टा इन्टरनेसनलले युएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टु इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ।