काठमाडौं। शुक्रबार साँझ प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पेस एक्स, टेस्ला तथा ट्विटर (एक्स)का मालिक एलन मस्कसँग भिडियो कुराकानी गरे। शुक्रबार बेलुका ९ बजेभन्दा केही अगाडि कुराकानी गरेका ओलीलले तत्कालै भिडियो कलमा मस्कसँग कुराकानी गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखे। ओली मुलुकको प्रधानमन्त्री भएको नाताले नेपालकै तथा बाहिरका विभिन्न व्यवसायी, उद्योगी तथा अन्य व्यक्तिसँग कुराकानी गर्नु/हुनु स्वाभाविक हो।
तर, यसरी कुराकानी गरेको विषय ओलीले तथा अन्य प्रधानमन्त्रीले पनि खासै सार्वजनिक गरेको देखिँदैन। ओलीले कुराकानी गर्नासाथ ‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु’ भन्दै तत्कालै सामाजिक सञ्जालमा पोस्ट गरे। ओली र मस्कबीच कुराकानी भएको विषय बाहिरिएपछि धेरैले मस्कले आफ्नो स्याटलाइट इन्टरनेट सेवा नेपाल भित्र्याउन चाहेको विषयसँग जोडेर हेरे। किनभने, यसअघि पनि मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न पटकपटक चासो देखाएका थिए।
२०७९ फागुनमा स्पेस एक्सका अधिकारीहरुले नेपालमा स्याटलाइट इन्टरनेट सेवा भित्र्याउने विषयमा चासो राखेका थिए। स्पेस एक्सका अधिकारीले नेपालको दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग अनलाइनमार्फत इजाजत पत्र दिने प्रक्रियाका विषयमा जिज्ञासा राखेका थिए। हुन त, सोभन्दा अगाडि नै स्पस एक्सको वेब साइटमा दक्षिण एसियाली मुलुक नेपाल, भुटान, श्रीलंका र माल्दिभ्समा सन् २०२३ मै इन्टरनेट सेवा सुरु गर्ने उल्लेख गरिएको थियो।
यस्तै, भारत र पाकिस्तानमा नियामक निकायबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको अनि बंंगलादेशमा सन् २०२४ भित्र सेवा सुरु गर्ने योजना रहेको कम्पनीले वेबसाइटमा उल्लेख गरेको थियो। साेहीअनुसार मस्कको स्टारलिंकले छिमेकी भारतमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवा प्रदानका लागि प्रवेश पाइसकेको छ। नेपालमा पनि प्रवेश गर्न मस्कको स्टारलिंकले चासो देखाउँदै आएको थियो।
दूरसञ्चार प्राधिकरणसँग चासो रोखेपछि गत भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर कम्पनीकी निर्देशक रेबेका हन्टलरले नेपालमा सेवा प्रदान गर्न इच्छुक रहेको बताएकी थिइन्। नेपालका लागि अमेरिकी राजदूत र स्टारलिंकको निर्देशकले मन्त्रीलाई मन्त्रालयमै भेटेर नेपालमा काम गर्न चाहेको विषय उल्लेख गरेका थिए। सञ्चारमन्त्रीले भने छलफल गरेर निर्णयमा पुग्ने बचन दिएका थिए।
यसपछि स्पेस एक्सले गत कात्तिकमा प्रधानमन्त्री ओलीलाई स्टारलिंकले कसरी काम गर्छ र नेपालमा आउन किन चाहन्छ भन्ने विषयसहितको बिफ्रिङ भएको भन्ने विषय पनि बाहिरिएको थियो। यसरी, स्पेस एक्सले नेपालमा आफ्नो सेवा भित्र्याउन चाहेको विषय निरन्तर आइरहेको समयमा भएको ओली र मस्कबीचको कुराकानीले पनि स्टारलिंक स्याटलाइट इन्टरनेटको विषय नै जोडिएको बुझ्न कठिन छैन।
तर, सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले मस्कसँग गरेको कुराकानीको तस्बिर राखेर इन्टरनेटको विषयमा कुराकानी भएको देखाउन मात्रै खाजेका थिएनन्। उनले नेपालसँग इन्टरनेटका लागि भारत र चीन मात्रै नभएर अन्य विकल्प भएको स्ष्पष्ट सन्देश दिएका छन्। खासगरी, भारत र चीनसँग मात्रै सीमा जोडिएकाले यी दुई मुलुकबाट मात्रै नेपालमा इन्टरनेट आयात भइरहेको छ। त्यहिपनि यसको ठुलो हिस्सा भारतमा निर्भर छ।
नेपालमा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले केरुङ हुँदै चीनबाट इन्टरनेट डेटा आयात गरिरहेको छ जसको मात्रा भनेको १० प्रतिशत भन्दा कम हो। चीनबाहेकको ठुलो हिस्सा इन्टरनेट भने भारतबाट आयात हुने गरेको छ। नेपालले भारतका एअरटेल, रिलायन्स, टाटासहितका अपस्ट्रीम सेवा प्रदायकहरूबाट इन्टरनेट आयात भइरहेको छ। भौगोलिक विकटताका कारण चीनबाट इन्टरनेट प्रवाह गर्न कठिन भएकाले भारतको एकाधिकार जस्तै अवस्था छ।
यस्तो अवस्थामा विभिन्न विषय उठ्दा नेपालको इन्टरनेटमा समस्या आउने गरेको छ। यस्तै, नेपालमा इन्टरनेट महँगो भएको विषय पनि उठ्ने गरेको छ। एउटै मुलुकसँग भर पर्नुपर्दा कहिलेकाहीँ नेपाल चेपुवामा पनि पर्ने गरेको छ। यही अवस्थालाई दृष्टिगत गर्दै प्रधानमन्त्री ओलीले नेपालमा इन्टरनेट उपलब्ध गराउने भारतीय र चिनियाँ पक्षलाई आफूहरुसँग अब अर्को विकल्प पनि रहेको सन्देश दिएका हुन्।
सुलभ र गुणस्तरीय सेवा नदिए नेपालले स्याटलाइट इन्टरनेट स्टारलिंकबाट सेवा लिन नसक्ने संकेत ओलीले दिएका हुन्। नेपालले समुद्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न योजना चर्चामा आएको लामो समय भए पनि यसमा काम हुन सकेको छैन। एलन मस्कको स्टारलिंकले विश्वका ६० भन्दा धेरै देशमा गरी २७ लाख प्रयोगकतालाई सेवा दिँदै आएकाे छ।
नेपालको दूरसञ्चार नीतिका कारण स्पेस एक्सको सेवा सहजै नेपाल आउन सक्ने स्थिति भने छैन। यसका लागि सरकारले नीति नै संशोधन गरेर अगाडि जानुपर्ने हुन्छ। दूरसञ्चार नीति, २०६० ले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्ने भए त्यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ। विदेशी दूरसञ्चार कम्पनीले नेपालमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण स्टारलिंक नेपाल भित्रिने विषय सहज देखिँदैन।
तथापि, सरकारले चाहेमा यसमा जान नसक्ने भन्ने कुरै हुँदैन। २०२२ फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट स्टारलिंकका ४९ वटा स्याटेलाइट पठाएको थियो। स्टारलिंकका स्याटेलाइट एकअर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेट गति तीव्र बनाउने उद्देश्यले पृथ्वीको कक्षको तल्लो तहमा वरिपरि राखिएका छन्। विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने स्याटेलाइटको आवश्यक पर्छ। स्टारलिंकले २०१८ देखि २०२२ अगस्टसम्म करिब ३ हजार स्याटेलाइट अन्तरिक्षमा राखेको अनुमान छ।
दूरीका हिसाबले धेरै तल भएकाले स्टारलिंक इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ। यो प्रविधिमा स्याटेलाइटबाट सिधा सम्पर्क स्थापित हुन्छ। फाइबरको प्रयोगबाट इन्टरनेट लैजान अप्ठेरो पर्ने दूरदराजमा स्टारलिंकको इन्टरनेट प्रभावकारी हुन्छ। हिमाली क्षेत्रमा पर्वतारोहणका लागि गएका मानिस हराउने, हिम पहिरोलगायत गतिविधिबारे पूर्वानुमान गर्न नसकिएको अवस्थामा यो सेवाले ग्रामीण भेगमा सर्वसाधारणले ब्रोडब्यान्ड इन्टरनेट चलाउन सहज हुने किसिमको छ। यसैले पनि विश्वभर याे इन्टरनेट विस्तार भइरहेको छ।