काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। धितोपत्र बोर्ड अध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए। अध्यक्ष नियुक्तीका लागि आइतबार मात्रै बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो।
साथै, आइतबार नै बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सर्टलिस्टमा परेका अर्का उम्मेदवार बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित थिए। सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले भने यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरिसकेका थिए।
बोर्ड अध्यक्षमा श्रेष्ठ नियुक्त भएसँगै करिब ११ महिनादेखि खाली रहेको बोर्डले नेतृत्व पाएको छ। २०८० पुस २० मा रमेशकुमार हमाल पदावधि सकिएर बाहिरिएदेखि बोर्डमा अध्यक्ष नियुक्त हुन सकेको थिए। बोर्ड अध्यक्षको नयुक्ती नहुँदा दजनौं काम रोकिएका थिए भने सेयर निष्कासन कार्य पनि रोकिएको थियो। यतिका समय सेबोन अध्यक्ष नियुक्ति नहुँदा पुँजी बजारलाई सरकारले बेवास्ता गरेको भन्दै आलोचना पनि भएको थियो।
२०८० फागुन १५ मा सिफारिस समितिले बोर्ड अध्यक्षका लागि १५ दिन (फागुन ३० सम्म) को समय दिएर आवेदन मागेको थियो, जुन अवधिमा १९ जनाको आवेदन परेको थियो। उक्त आवेदकमध्येबाट सेबोनका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ, नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईं, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र व्यवसायी सन्तोषनारायण श्रेष्ठ ‘सर्टलिस्ट’मा परेका थिए। पटकपटकको रोकावटपछि बोर्डले नेतृत्व पाएसँगै अब बजारमा रोकिएका कामहरु अगाडि बढ्ने अपेक्षा गरिएको छ।
गएको ११ महिनासम्म बोर्ड अध्यक्ष नियुक्त नहुँदा पुँजीबजारसम्बन्धी दजर्नौं काम रोकिएका थिए। बोर्ड अध्यक्ष नहुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एन्ड क्लिएरिङ लिमिटेडले अनुमति तथा स्वकृतिका लागि पठाएका धेरै विषयका फाइल अड्किएर बसेका छन्। बोर्डबाटै गरिनुपर्ने दर्जनौं काम पनि प्रभावित छन्। नेप्सेले संशोधन गरी स्वीकृतिका लागि पठाएको धितोपत्र सूचीकरण विनियमावली, २०७५ नयाँ अध्यक्ष नियुक्तिसँगै निर्णयमा पुग्ने अपेक्षा गरिएको थियो। सबोन अध्यक्षमा हमाल हुँदै संशोधन गरेर स्वीकृतिका लागि पठाइएको उक्त विनियमावली अध्यक्ष नियुक्त नहुँदा अन्यौलमा छ।
सूचीकृत कम्पनीको अवस्थालाई थप व्यवस्थित बनाउन विनियमावली संशोधन गरी स्वीकृतिका लागि पठाइए पनि महिनौं बित्दासमेत सो विषय टुंगिएको छैन। यसले सूचीकृत कम्पनीलाई व्यवस्थित बनाउने नेप्सेको योजनामा असहयोग पुगेको छ। यसका अतिरिक्त सेयर बजार चलायमान बनाउन भूमिका खेल्ने सार्वजनिक निष्कासन (आईपीओ), थप सार्वजनिक निष्कासन (एफपीओ), सामूहिक लगानी कोष (म्युचअल फन्ड), हकप्रद सेयर (राइट सेयर) र ऋणपत्र (डिबेन्चर) निष्कासन कार्य पनि ११ महिनादेखि ठप्प जस्तै छन्।
धितोपत्र तथा वस्तु विनीमय आयोग ऐन र धितोपत्र तथा वस्तु विनीमय ऐन बनाउनुपर्ने, वस्तु विनीमय दलाल तथा व्यापारी नियमावली, वस्तु विनीमय कारोवार राफसाफ तथा फछ्यौट नियमावली तथा वेयरहाउस सम्बन्धी नियमावली तयार गर्नुपर्ने, बजार संचालन, कारोबारको राफसाफ तथा फछ्यौट र बजार सुपरिवेक्षण प्रणालीको कमजोर अवस्था, सूचना प्रवाहको कमजोर अभ्यास सुधार गर्नुपर्ने चुनौति अध्यक्षमाथि छ। कार्यकालमा बोर्डको नियमन र सुपरिवेक्षण क्षमता अभिवृद्धि गरी संचालन स्वायत्तता प्राप्त गर्ने कार्य र नीतिगत स्थिरता दिई बजारको दिगो र स्थिर विकासको आवास गराउनुपर्ने छ।
नेपाल स्टक एक्सचेन्ज तथा सिडिएस एण्ड क्लियरिङ्गको संरचनात्मक सुधार र कार्यसंचालन प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने, धितोपत्रको दोस्रो बजारको पहुँच देशको सम्पूर्ण भागमा पुरÞ्याउनुपर्ने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा ल्याउनुपर्ने कार्य पनि बोर्डबाट हुनुपर्नेछ। गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई दोस्रो बजारमा प्रवेश गराउने विषय, म्युचुअल फण्ड, वण्ड मार्केट (सरकारी तथा कर्पोरेट) समेतको विकासलाई प्रभावकारी बनाउँदै लग्ने कार्यमा अध्यक्ष जुट्न सक्नुपर्नेछ।
यसका अतिरिक्ति प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने विषय, बुक बिल्डिङ प्रणाली पनि सुरुमै विवादमा तानिएका कारण यी विषयलाई विवादरहित ढंगमा अगाडि बढाउनुपर्ने चुनौति बोर्डसामू छ। नयाँ स्टक एक्सचेञ्ज र नेप्से पुनर्संरचनाको विषयमा दुई किसिमको मत रहेका कारण यी विषय कसरी सम्बोधन हुनेछन् भन्ने विषय पनि हेरिनेछ। सेयर बजारका लागि धितोपत्र औजारको विविधीकरण गर्ने, डेरिभेटिभ बजार सञ्चालन गर्ने, सर्टसेलको व्यवस्था, नेप्से ३० र एसएमई प्लेटफर्म सञ्चालन, मार्जिन कारोबार, ट्रेडिङ (एक दिनमै सेयर किनेर बेच्ने मिल्ने) जस्ता दजनौं मुद्दा अगाडि बढ्न सकेका छैनन्।
सेयर खरिदबिक्री गर्ने समयमा लगानीकर्ताको टिएमएस नचल्ने, नेप्से सिस्टममा समस्या आउने जस्ता आधारभूत समस्यासमेत समाधान हुन नसकेका विषय उठ्दै आएका छन्। लगानीकर्ताले सेयर कारोबारमा नयाँ प्रविधि, नयाँ प्रकृति र विस्तारीत क्षेत्रको अनुभूती गर्न पाएका छैनन्। कर्नरीङ, पुलिङ, पम्पिङ एन्ड डम्पिङ जस्ता विषय बजारमा खुलारुपमा भइरहेको तथा नियामक मुकदर्शक बनेको भन्दै आलोचना भइरहेका छ। यी विषयलाई सुधार गरेर सेबोन नियामक निकाय भएको विश्वास आम लगानीकर्तालाई दिन आवश्यक छ।