काठमाडौं। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाले भरिपूर्ण देश भएको बताएका छन्।
सोमबार विश्व सहरी दिवस अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिंहले पुर्खाले नेपाललाई सुन्दर सहर दिएर गएको बताएका हुन्।
‘संसारलाई देखाउन सक्ने सम्पदाले भरिएको देश हो नेपाल । पुर्खाले छाडेर गएका ती सम्पदालाई राम्रोसँग व्यस्थित गरेर संसारलाई चिनाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने।
उनले विगतमा अहिलेको काठमाडौं काष्ठमाण्डपका रुपमा रहेको सन्दर्भ चर्चा गर्दै तत्कालीन समय काष्ठमण्डप आर्थीक गतिविधिको केन्द्र रहेको स्मरण गरे। उपत्यकाभित्र पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा समावेश छन्। यिनै सम्पदाको जगेर्ना गर्दै पर्यटक आकर्षित गर्न सकिने हुँदा व्यवस्थित सहरीकरणमा आफ्नो जोड रहेको उनको भनाइ छ।
सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दीर्घकालीन रुपमा असर गर्ने भएकाले नीतिगत कुरामै जोड दिएको भन्दै उनले सहरी नीति ०८१ मन्त्रिपरिषद्मा अन्तिम चरणमा रहेको जानकारी गराए। सहरी नीति मन्त्रिपरिषबाट स्वीकृत भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजान आवश्यक पर्ने ऐन बनाउन तदारुकताका साथ मन्त्रालय अघि बढिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए।
उनले युवासँग नयाँ आइडिया हुने भएकाले योजना निर्माण प्रक्रियामा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्नेमा जोड दिए। युवा उत्प्रेरित स्थानीय योजना र प्रयासः जलवायुमैत्री दिगो आवास र सहरी विकास नाराका साथ यस वर्षको विश्व सहर दिवस र विश्व सहर योजना दिवस मनाइएको हो।
कार्यक्रममा यस वर्षको उत्कृष्ट शोधपत्रका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रवल दाहाल र ख्वप इन्जिनियरिङ कलेजका विराट शाक्यलाई उत्कृष्ण शोधपत्र पुरस्कार वितरण गरिएको थियो। नेपाल क्षेत्रीय तथा सहरी योजनाकार समाज रुप्सनले उत्कृष्ट सोधपत्र पुरस्कारको संयोजन गरेको थियो।