काठमाडौं। अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ द्वारा गरिएको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङसहितको सन्तोषजनक नतिजा प्राप्त गरेकोमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गर्वित महसुस भएको बताएको छ।
दक्षिण एसियाका अन्य मुलुकमध्ये छिमेकी भारतभन्दापछिको दोस्रो उच्च सार्वभौम साख मूल्यांकन प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन, यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित गरेको सिबिफिनले विज्ञप्तिमार्फत जानकारी दिएको हो।
मुलुकको अर्थतन्त्रका बाह्य सूचक निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षितरुपमा लगानी÷कर्जा विस्तार हुन नसकि आर्थिक गतिविधिले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सृजना गरेको र लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनको लागि ठूलो अवसर सृजना गरेको सिबिफिनको बुझाइ छ।
त्यसैगरी मूल्यांकनले बैंक÷वित्तीय संस्थालाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिन÷ऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउन सञ्जीवनी बुटीको कार्य गर्ने सिबिफिनको विश्वास छ।
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गरेको सन्दर्भमा साख मूल्यांकनको क्रममा देखिएका कमी–कमजोरीलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन, समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रुपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नवीन यात्रा प्रारम्भ गर्न सरकार तथा सरोकारवाला निकायबाट आवश्यक पहलकदमी तत्काल अगाडि बढाइने अपेक्षा सिबिफिनको छ।