काठमाडौं। दोस्रो बजारमा सर्वाधिक मूल्य भएका कम्पनीहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तल्लो ग्रेडिङमा परेका छन्। न्यून पुँजी भएका, नाफा कमाउन नसक्ने, लगानीकर्तालाई लाभांश नदिने तथा औषत क्रेडिट रेटिङ प्राप्त गर्ने कम्पनीलाई नेप्सेले न्यून ग्रेडमा वर्गीकृत गरेको हो।
नेप्सेले ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ अनुसार लगानीकर्तालाई कम्पनी मूल्यांकन गरी दोस्रो बजारमार्फत लगानी गर्न सहज हुने गरी सूचीकृत संगठित कम्पनीहरूको वर्गीकरण गर्ने गरेको छ। नेप्सेले सूचीकृत कम्पनीको पुँजी, सूचीकरण समय, नाफा र लाभांश परिमाण, सञ्चित नाफा, सेयरधनीको संख्या, क्रेडिट रेटिङको प्राप्तांक, प्रकाशित वित्तीय विवरणको वास्तविकता, साधारणसभाको नियमिततालगायत मूल्यांकन गरेर ४ वर्गमा वर्गीकरण गर्छ। सोहीअनुसार कम्पनीलाई नेप्सेले ‘ए, बी, जी र जेड’ ग्रेडिङ गर्छ।
यस्तो ग्रडिङको तल्लो वर्गमा पर्नु भनेको लगानीकर्ता लगानीबाट विमुख हुँदै जानु हो। त्यसैले सूचीकृत कम्पनी नेप्सेको माथिल्लो ग्रेडिङमा मेहिनेत गरिरहेका हुन्छन्। नेप्सेले ‘लिस्टेड कम्पनी क्यासिफेकेसन’अन्तर्गत हरेक ३/३ महिनामा यस्तो ग्रेडिङ अध्यावधि गराउँछ। अघिल्लो पटक ग्रेडिङमा जेड ग्रेड परेका कम्पनी पछिल्लो पटक माथिल्लो ग्रेडमा परिहेका हुन्छन् भने केहीको ग्रेडिङ खस्किन्छ।
नेप्सेले सूचीकृत २ सय ४५ वटा कम्पनीलाई गरेको ग्रेडिङमा राम्रोमा भन्दा न्यून ग्रेड प्राप्त गर्ने कम्पनीहरूको सूची बढी छ। नेप्सेले पछिल्लो पटक गरेको सूचीकृत कम्पनीको वर्गीकरणमा ३१ वटा कम्पनी ‘ए’ ग्रेड, ३५ वटा ‘बि’ ग्रेड, ६९ वटा ‘जि’ ग्रेडमा वटा र ‘जेड’ ग्रेडमा १ सय १० वटा कम्पनी सूचीकृत छन्।
अन्तराष्ट्रिय अभ्यास हेर्दा पनि सम्बन्धित देशको स्टक एक्सचेञ्जले सुचिकृत कम्पनीहरूको विभिद् सुचांकको मूल्यांकन गर्दै त्यसको वर्गीकरण गरेको पाइन्छ। त्यही वर्गीकरणलाई कम्पनी मूल्यांकनको प्रमुख आधार बनाउँदै लगानीकर्ताले लगानीको धारणा बनाउँछन्। नेपालको स्टक एक्सचेञ्जले पनि लगानीकर्तालाई कम्पनी मूल्यांकनमा सहज हुने गरी कम्पनी वर्गीकरण गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन्।
‘धितोपत्र सूचीकरण विनियमावलीअनुसार नेप्सेले कम्पनीहरूको वर्गीकरण गर्नु पर्छ, यस्तो वर्गीकरणले लगानीकर्तालाई लगानी गर्न कम्पनी छनौट गर्न सहयोग गर्छ,’ नेप्से प्रवक्ता पराजुलीले क्यापिटल नेपालसँग भने, ‘नेप्सेको वर्गीकरणलाई प्रारम्भिक आधार मानेर लगानीकर्ताले कम्पनीहरूको अन्य सुचांक अध्ययन गरेर राम्रो कम्पनी छनौट गर्न सक्छन्।’
नेप्सेले गरेको वर्गीकरणले कुन कम्पनी कस्तो अवस्थामा छ र त्यसको वित्तीय अवस्था, पुँजी, सूचीकरणको अवधि, लाभांश र सञ्चित नाफाको अवस्था, कम्पनीको साधारण सभा क्रेडिट रेटिङ लगायत अन्य वित्तीय अवस्थाबारे प्रष्ट्याउँछ। सोहीअनुसार नेप्सेको ग्रेड निर्धारण हुन्छ। तर, यस्तो ग्रेडिङको माथिल्लो वा तल्लो वर्गमा रहेका कम्पनीमा लगानी गर्नुपर्दा स्वअध्ययन तथा मूल्यांकन गरेर मात्रै गर्न उनको सुझाव छ।
यता, सेयरविज्ञ अम्बिकाप्रसाद पौडेल भने नेप्सेले गरेको ग्रेडिङलाई नै प्रमुख आधार बनाएर लगानी गर्ने बताउँछन्। त्यसैले नेप्सेले सूचीकृत कम्पनीहरूको वर्गीकरण थप परिस्कृत तबरले गर्नुपर्ने उनको भनाइ छ।
‘फन्डामेन्टल एनालाइसिस गरेर इनभेष्ट गर्ने इन्भेष्टरले नेप्सेको कम्पनी ग्रेडिङ हेरेर नै गर्छन्,’ पौडेलले क्यापिटल नेपालसँग भने, ‘नेप्सेले अहिले कम्पनीको ग्रेडिङ गर्दा बजार पुँजीकरण, पुँजी र सेयरधनीलाई मात्रै मूख्य आधार बनाउँने गरेको तर कम्पनी ग्रेडिङको लागि यो मात्रै प्रयाप्त होइन।’
नेप्सेले गर्ने कम्पनी ग्रेडिङलाई धेरै लगानीकर्ताले लगानी गर्न कम्पनी छनौटको आधार बनाउँने हुँदा यस्तो ग्रेडिङ निर्धारणमा नेप्सेले अन्य वित्तीय सूचकांकको पनि मूल्यांकन गर्नुपर्ने उनको सुझाव छ।
नेप्सेले गरेको पछिल्लो ग्रेडिङमा सेयर बजारमा राम्रो तथा महँगा भनिएका कम्पनीले पनि न्यून ग्रेड अर्थात् ‘जेड’ ग्रेड पाएका छन्। नेप्सेको तल्लो ग्रेडिङमा अर्थात् ‘जेड’ ग्रेडमा सूचीकृत कम्पनीमा सेयर बजारमा ठूला भनिका कम्पनीहरू, वाणिज्य र विकास बैंक, बिमा कम्पनी सूचीकृत छन्।
यीमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी र कृषि विकास बैंक गरी ४ वटा वाणिज्य बैंक र ७ वटा विकास बैंक सूचीकृत छन्। विकास बैंकमा नारायणी विकास बैंक, एक्सल डेभलपमेन्ट, कर्णाली डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, ग्रिन डेभलपमेन्ट र सप्तकोसी डेभलपमेन्ट बैंक परेका हुन्। साथै, ग्रेडिङमा अधिकांश माइक्रोफाइनान्स कम्पनी र फाइनान्स कम्पनी परेका छन्।
नेप्सेको ग्रेडिङमा प्रभु महालक्ष्मी लाइफ, सूर्यज्योति लाइफ, एसियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एनआइसी), नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ गरी ६ वटा लाइफ इन्स्योरेन्स परेका छन्। साथै, सानिमा जेआइसी, शिखर, आइजिआइ प्रुडेन्सियल, सगरमाथा लुम्बिनी, प्रभु, नेको, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, राष्ट्रिय बिमा कम्पनी र युनाइटेड अजोड गरी १० वटा ननलाइफ इन्स्योरेन्स कम्पनी पनि ‘जेड ग्रेड’ मा वर्गीकृत छन्।
नेपालको सेयर बजारमा १ हजार बढी सेयर मूल्य भएका कम्पनीलाई महँगा भनिने गरिएको छ। यस्ता कम्पनीमा लगानी गर्नुपर्दा लगानीकर्ताले सम्बन्धित कम्पनीको मूल्यांकनमा अतिरिक्त समय खर्चिन्छन्।
नेपालको सेयर बजार महँगा भनेर १० हजारभन्दा बढी सेयर मूल्य भएका कम्पनीलाई चिनिन्छ। यिनमा युनिलिभर, बोटलर्स नेपाल (बालाजु र तराई), राष्ट्रिय बिमा कम्पनी, हिमालयन डिस्टिलरी, विशाल बजार, चिलिमे हाइडोपावर, माथिल्लो तामाकोसी पर्छन्। तर, नेप्सेको ग्रेडिङमा भने यिनै महँगा भनिएका हजारौं रुपैयाँ सेयर मूल्य भएका कम्पनीले पनि न्यून ग्रेड अर्थात् जेड ग्रेड पाएका छन्।
यसमध्ये साल्ट टेड्रिङ कम्पनीको ५ हजार ७ सय, विशाल बजार कम्पनीको ४ हजार ५ सय, राष्ट्रिय बिमा कम्पनीको १७ हजार, बोटलस नेपाल बालाजुको १६ हजार ७ सय र तराइको १३ हजार ९ सय, नागरिक लगानीकोष २ हजार १ सय, युनिलिभर नेपालको ४६ हजार, नेपाल रि इन्स्योरेन्स १ हजार ५२ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स १ हजार १ सय सेयर मूल्य छ।
बजार पुँजीकरणको आधारमा ठूलो भनिएको हिमालयन रि इन्स्योरेन्स, नागरिक लगानीकोष, नेपाल रि इन्स्योरेन्स, नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्सले पनि जेड ग्रेडमा परेका छन्।
नेप्सेको ग्रेडिङ आधार
सूचीकृत कम्पनीमध्ये चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको गरको कम्पनी ‘ए’ वर्गमा पर्छ।
यस्तै, ‘बी’ वर्गमा चुक्ता पुँजी कम्तीमा ५० करोड रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, विगत तीन वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसतभन्दा एक तहमुनिको रेटिङ प्राप्त गरेको, संचित नोक्सानी नरहेको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न कम्पनी पर्छन्। तर, सूचीकृत भएको दुई वर्ष पूरा नभएसम्म त्यस्तो कम्पनी ‘जी’ वर्गमा रहन्छन्।
सूचीकृत भएको २ वर्ष पूरा भएर पनि ए र बी वर्गमा उल्लेख भएको सर्त पूरा गर्न नसक्ने कम्पनीलाई नेप्सेले ‘जेड’ वर्गमा वर्गीकरण गर्छ।