काठमाडौं। आगामी मंसिर १७ मा उत्तरी छिमेकी चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सुझाव मागेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका बेला नेपालले उठान गर्ने विषयबारे सुझाव मागेका हुन्।
प्रधानमन्त्रीले मंसिर १८ मा चिनियाँ समकक्षी र राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यतालिका परराष्ट्रले सार्वजनिक गरेको छ।
प्रधानमन्त्री ओलीको आह्वानमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहभागी छन्।
छलफलमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, एनपी साउद, ईश्वर पोखरेललगायत सहभागी छन्।
सिंहदरबार छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रधी बाबुराम भट्टराई भने सहभागी छैनन्। देउवा आज जनकपुरमा कार्यक्रमका लागि गएकाले बैठकमा सहभागी भएनन् भने भट्टराई पनि गोरखामा रहेकाले छलफलमा अनुपस्थित भए पनि सामाजिक सन्जालबाट प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।