काठमाडौं। काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सले यो आर्थिक वर्षभित्र ८ किलोमिटर बढी सडक मर्मत गरेको छ।
कम खर्चमा सजिलै मर्मत हुन सक्ने महानगर स्वामित्वका सडक पूर्वाधारमा ठूलो बजेट खर्च जोगाउन महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’को उपस्थितिमा बसेको पहिलो कार्यपालिका बैठकले २०७९ जेठ ३० गते पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने निर्णय पारित गरेको थियो।
पूर्वाधार एम्बुलेन्सले यो आर्थिक वर्षबाट प्रभावकारी काम थालेको मेयर बालेनको सचिवालयका इन्जिनियर सुनिल लम्साल बताउँछन्।
पूर्वाधार एम्बुलेन्स कार्यक्रमले महानगरको सीमाभित्र पर्ने जुनसुकै सडकमा समस्या देखिए पनि मर्मत गर्दै आएको छ। तर, त्यसरी बिग्रिएका, खाल्डो परेका वा अन्य समस्या भएको सडक मर्मतका लागि अर्को कुनै पनि निकायले प्रक्रिया सुरु गरेको हुन हुँदैन। यदि सडक वा ढल मर्मतका लागि ठेक्का लागाउने प्रक्रिया सुरु भइसकेको छ भने कानुनअनुसार काम गर्न नमिल्ने हुँदा महानगरले कुनै कदम चाल्न नमिल्ने उनको भनाइ छ।
काठमाडौं महानगरभित्रका सडकमा खाल्डो परेको, भत्किएको देखिए वा ढलमा समस्या भेटिएमा कल सेन्टर, महानगरको फिल्ड अनुगमनमा रहेको प्राविधिक टोली, महानगरको मेल, मेयरको मेल, वडा कार्यालयमा गुनासो एवं सूचना दिन सकिन्छ। त्यसरी प्राप्त सूचनाको आधारमा महानगरले आफ्नै बजेटबाट सडक मर्मत गर्नेछ।
चालू आर्थिक वर्षका लागि महानगरले २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यसमध्ये कात्तिक मसान्तसम्म ४ करोड ४९ लाख रुपैयाँ खर्च भएको पाइएको छ। उक्त खर्च विनियोजित बजेटको २२.५८ प्रतिशत हो।
सो रकमले हालसम्म ७.०९ किलोमिटर ब्ल्याक टप (कालोपत्रे) रोड, ५०० मिटर आरसिसी रोड र अन्य २०० मिटर गरी कुल ८ किलोमिटर बढी सडक मर्मत भएको हो।
दुई पूर्वाधार एम्बुलेन्स परिचालन
महानगरभित्र दुई वटा पूर्वाधार एम्बुलेन्स परिचालन गरेर सडक मर्मतका काम भइरहेको इन्जिनियर लम्सालले बताए। ‘महानगरले दुई वटा एम्बुलेन्सलाई सडक मर्मतका लागि छुट्याएको छ। थप आवश्यक परे निर्माण व्यवसायीसँग समन्वय हुन्छ,’ उनले भने। महानगरले निर्माण व्यवसायीसँग ‘सर्भिस कन्ट्रयाक्ट’ गरेको हुन्छ। सोही कन्ट्रयाकमा व्यवसायीको सवारी साधन प्रयोग खर्च जोडिएको हुन्छ।
दिउँसो सडक मर्मत गर्दा यातायात सञ्चालनमा अवरोध हुने भएपछि रातको समय बढी काम हुने गरेको इन्जिनियर लम्सालको भनाइ छ। तर, अत्यावश्यक स्थानमा भने दिउँसो पनि सडक मर्मतको काम हुन्छ।
महानगरले थोरै खाल्डाखुल्डीदेखि केही किलोमिटरसम्म बिग्रिएको सडक मर्मत गर्दै आएको उनले बताए। साथै, गुनासोअनुसार सडक मर्मत गर्दा सर्वसाधारणबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको इन्जिनियर लम्साल दाबी गर्छन्।
नेपालमा यसरी स्थानीय सरकारले आफ्नै पहलमा सडक मर्मत गर्न छुट्टै सवारी साधन राखेको भने यो पहिलो पटक हो। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका बालेनको प्रयासमा महानगरभित्र पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याएर सडक मर्मतका काम भइरहेका हुन्।
सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढललगायत पूर्वाधार आकस्मिक मर्मतसम्भार गर्न महानगरले पूर्वाधार एम्बुलेन्स सेवा सुरु गरेको हो। एम्बुलेन्समा इन्जिनियर वा प्राविधिक रहेका हुन्छन्। उनीहरूले आफूलाई चाहिने अत्यावश्यक उपकरण सँगै बोकेका हुन्छन्। पूर्वाधार एम्बुलेन्समा एक इन्जिनियरसहित चार जना मजदुरको टोली हुन्छ।