काठमाडौं। नेपाल वायुसेवा निगमका स्थायी पाइलटहरूले सल्लाह गरेरै ‘बिरामी परेको’ वा ‘अपर्झट भैपरी काम आइपरेको’ जनाउँदै अन्तिम समयमा बिदामा बसेपछि शनिबारयता कम्तीमा आधा दर्जन उडान प्रभावित भएका छन् । निगमको वाणिज्य विभागका अनुसार झन्डै दर्जन पाइलट (क्याप्टेन) बिदामा बस्दा आइतबार मात्रै कम्तीमा ९ सय ६३ यात्रु काठमाडौं, मुम्बई र दुबईमा अलपत्र परेका छन् ।
सेवासुविधाको माग उठाउँदै आएका पाइलटहरू ‘बिरामी परेको’ वा ‘अपर्झट भैपरी काम आइपरेको’ भन्दै बिदा बसेका हुन् । उनीहरू ‘ड्युटी’ नआएका कारण आइतबार साँझ साढे ९ बजे काठमाडौंबाट १ सय ६७ यात्रु लिएर दुबई उड्नुपर्ने जहाज काठमाडौंमै रोकियो । त्यस उडानका यात्रुलाई निगमले गौशालाका होटलमा कोठा खोजेर निगमकै खर्चमा राखेको छ ।
यस्तै, दिउँसो साढे १२ बजे १ सय ५५ यात्रु लिएर निगमको जहाज भारतको मुम्बई जानुपर्ने थियो । यात्रु भने १० बजेअघि नै विमानस्थल पुगेका थिए । अबेरसम्म पनि उडान नभएपछि यात्रुले नाराबाजी गरेका थिए ।
आक्रोशमा उत्रिएका केही यात्रुलाई प्रहरीले नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई आइतबार नै उडान हुने आश्वासन दिएर विमानस्थलभित्रकै लाउन्ज र रेस्टुरेन्टमा राखेर खाना व्यवस्था गरिएको थियो । ‘यात्रुले विमानस्थलमा तोडफोड गर्लान् जस्तो भयो, निगमका कर्मचारी भागाभाग भए, जहाज आइतबार जसरी पनि उड्छ भनेर आश्वासन दिइएपछि यात्रु मत्थर भए।
विमानस्थलको टर्मिनल कार्यालयका अनुसार राति १० बजे निगमले हडतालमा संलग्न नभएको पाइलटको खोजी गरेर जहाजलाई दिल्ली उडाएको थियो । मर्मत कार्य भइरहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज बिहान ८ बजेअघि आउन पाउँदैन । यताबाट जाने जहाजमा आइतबार ४ बजे काठमाडौं आउन मुम्बईमा ८८ यात्रु तयार भएर बसेका थिए ।
२ सय ७७ यात्रु लिएर दिल्ली जानुपर्ने जहाज झन्डै २ घण्टा ढिलो उड्यो । उडान सर्ने क्रम बेलुकी १० बजेसम्म जारी थियो । शुक्रबार पनि बिहान हङकङ जानुपर्ने जहाज करिब ५ घण्टा ढिलो उडेको थियो । शनिबार अरू उडान पनि कम्तीमा १ घण्टा ढिलो भएको विमानस्थल कार्यालयले जनाएको छ । दुबईबाट नेपाल आउँदै गरेका ८१ नेपाली कामदार तथा तेस्रो मुलुकबाट आएका यात्रु उतै अलपत्र परेका छन् । उनीहरूमध्ये कति विमानस्थलमा छन्, कति होटलमा छन् भन्ने जानकारी निगमसँग छैन ।
निगमसँग दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी उडाउन ४३ क्याप्टेन छन् । स्थायी सेवामा कार्यरत निगमका पाइलटहरूले मासिक तलबभत्ता ६ लाख हाराहारी पाउँछन् ।
वाइडबडीका एक क्याप्टेनले हडताल भन्न नमिल्ने भएकाले आफूहरूले बिदा बस्दै विरोध गरेको बताए । ‘यो हाम्रो एक प्रकारको आन्दोलन हो । उडान नै ठप्प पारेका छैनौं,’ उनले भने, ‘माग पूरा नभए केही दिनपछि उडान हुने छैन ।’ ती क्याप्टेनले एकैसाथ १२ पाइलट बिदा बसेको जानकारी अपरेसन विभागका निर्देशक दिपुराज ज्वारचनमार्फत निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई पठाएको बताए ।
अपरेसन विभाग प्रमुख ज्वारचनले भने निगमका ४३ मध्ये ८ पाइलट बिहीबारदेखि सुनियोजित शैली अपनाउँदै बिदा बसेको र त्यसले उडान प्रभावित भएको जनाएका छन् । उनले यसरी बिदा बस्दा निगमलाई आर्थिक नोक्सानी मात्र पर्न नगई निगमको साख र इज्जतमा नकारात्मक असर परेको उल्लेख गर्दै सबै पाइलटहरूलाई आइतबार राति पत्र पठाएका छन् । ‘निगमले यसलाई अत्यन्तै गम्भीर रूपमा लिएको छ,’ पाइलटहरूलाई पठाइएको पत्रमा लेखिएको छ, ‘निगमलाई पर्ने आर्थिकलगायतका नोक्सानीका सम्बन्धमा नियमअनुसार कारबाही हुने भएकाले सम्पूर्ण पाइलटहरू उडानमा फर्किनुहोला ।’