काठमाडौं। विद्युतीय सवारीसाधन (ईभी)मा सबैभन्दा बढी ब्याट्रीलाई महत्वका साथ हेरिन्छ। सवारीसाधन खरिद गर्ने व्यक्तिले ब्याट्रीको पावर, वारेन्टी त्यसको माइलेज लगायतका विषयलाई चासोका साथ हेर्छन्। अझ, धेरै व्यक्तिले त ब्याट्री फेर्नुपर्दा गाडीको मूल्य बराबर नै महँगो पर्ने भन्दै ईभी प्रयोग नगर्ने तर्क गर्छन्।
दिगो क्लिन इनर्जी कम्पनीका अध्यक्ष राजन रायमाझी तिब्र रुपमा विद्युतीय गाडीहरु भित्रिरहँदा त्यसमा प्रयोग हुने ब्याट्री कति टिक्छ भन्ने चासो राख्नु स्वभाविक भएको बताउछन्। ‘ब्याट्रीको वारेन्टी कम्तीमा ८ वर्षका लागि दिइएको हुन्छ। त्यसमा पनि निजी सवारीसाधन सामान्यतया काठमाडौंमा दैनिक ३० किलोमिटर गुड्दा बीसौं वर्षसम्म टिक्छ,’ उनी भन्छन, ‘अर्कोतर्फ गाडीमा प्रयोग हुने लिथियम ब्याट्री वातावरणमैत्री हुन्छ। छिटो आयु सकिने भनेको सार्वजनिक यातायात र व्यावसायिक प्रयोजनका गाडीहरुबाट हो।’
उनले व्यावसायिक प्रयोजनार्थ प्रयोग हुने गाडीहरु दैनिक ३०० किलोमिटरका दरले महिनामै ९ हजार किलोमिटर र वर्षमै १ लाख किलोमिटर चलिसक्छन। तर, निजी सवारीसाधनलाई १ लाख किलोमिटर दौडिन १० वर्ष लाग्छ। यसरी हेर्दा व्यावसायिक गाडीबाट ब्याट्री चाँडो निस्किन्छ र यसको पनि व्यवस्थापनको उपाय तय भइसकेको छ। रायमाझीका अनुसार लिथियम ब्याट्री तत्कालै बिग्रने भन्ने हुँदैन। समयअनुसार उसले दिने क्षमतामा कमी आउन थाल्छ। त्यसका लागि ती ब्याट्रीलाई इनर्जी स्टोरेजका रुपमा युपिएसमा लामो समयसम्म प्रयोग गर्न सकिन्छ।
खासगरी, ईभीको ब्याट्रीमा प्रयोग हुने प्रविधि, बन्ने प्रक्रिया, डिस्पोजल प्रणाली लगायतका विविध कारणले गर्दा ईभीको ब्याट्री महँगो हुने गर्दछ। तर, नयाँ गाडी किन्ने लागत नै लाग्छ भन्ने होइन। विश्व बजारमा ईभी ब्याट्री निर्माताहरु कम रहेकाले र नयाँ/नयाँ प्रयोग भइरहेका कारण पनि यसको मूल्य तुलनात्मक रुपमा महँगो हुने गर्दछ। साथै, ब्याट्री उत्पादकहरुबीचमा उच्च किसिमको प्रतिस्पर्धा नभएका कारण ईभी ब्याट्री महँगो पर्ने गर्दछ।
यसका साथै, ईभी ब्याट्री महँगो हुनुका अन्य कारणहरु पनि छन्। ईभीसँग जोडिएको सबैभन्दा ठुलो लागत भनेको यसको ब्याट्रीको लागत हो। त्यसकारणले ब्याट्री महंगो पर्न जान्छ। ईभी गाडीको ब्याट्री मार्केट फरएक्स मार्केट अथवा गोल्ड मार्केट जस्तो भएको एमएडब्लु वृद्धि मोटरका बिजनेस हेड प्रसन्न पन्त बताउँछन्। ‘ब्याट्री मार्केट भनेको फरएक्स मार्केट अथवा गोल्ड मार्केट जस्तो हो। यसको डिमान्ड सप्लाईको आधारमा ब्याट्रीको लागत बढी अथवा कम हुने हो,’ पन्त भन्छन्, ‘विगतको तुलनामा आजको दिनमा हेर्दा लिथियम आयोन ब्याट्री एकदमै कम हिसाबले घट्दै गएको छ। नयाँ गाडी किन्ने लागत र ब्याट्री प्रतिस्थापनको मूल्य समान भन्ने कुरा गलत हो।’
विद्युतीय गाडीमा भएको ब्याट्री एक प्रमाणित प्रविधि हो। कुनै पनि वस्तु कहिलेकाँही महंगो स्थितिमा हुन्छ। यसको माग बढ्दै जाँदा मूल्य घट्दै जाने पन्तको भनाइ छ। ‘ईभीको ब्याट्री लाइफ एकदमै कम डिक्रेसन भयो भने पनि १.२५ प्रतिशतको हिसाबले पर यानम यसको डिग्रीरेसन हुन्छ। ८ वर्ष पछि पनि यसले ८०/९० प्रतिशत क्षमता राख्छ’ पन्त भन्छन्, ‘ब्याट्रीको लागत मूल्य नयाँ गाडी बराबरको कहिले पनि हुँदैन। त्यसको ब्याट्री लागत भनेको गाडीको भ्यालुयसनको ३०–४० प्रतिशत हुन्छ। ब्याट्री र नयाँ गाडीको मूल्य एउटै हुन्छ भन्ने होइन।’ उनका अनुसार ब्याट्री निर्माता कम्पनीहरुले यसको वारेन्टी ७–८ वर्ष दिइएको हुन्छन्।
ईभी गाडीमा हुने ब्याट्रीको आयु ८ वर्ष वारेन्टी मात्र हो। यसको लाइफ नभएको बताउँछन्। विद्युतीय कार खरिद गर्दा उपभोक्ताहरूको सबैभन्दा ठुलो चिन्ता भनेको कारको ब्याट्री कति समयसम्म चल्छ भन्ने हुने गर्दछ। अरु गाडी खरिद गर्दा समयसमयमा मर्मतसरम्भार गरिरहेमा लामो समयसम्म टिकिरहने सोचिने गरिन्छ तर, ईभीमा ब्याट्रीले साथ दिन्छ कि दिँदैनन् भनेर सबै उपभोक्तालाई चिन्ता हुने गर्दछ। धेरै प्रयोगकर्तामा ईभीको ब्याट्री केही समय मात्रै चल्ने भ्रम रहेको छ। ईभी गाडीहरुमा सामान्यतया ८ देखि ९ वर्ष अथवा १ लाख किलोमिटर माइलेज वारेन्टी दिएको हुन्छ।