काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष भएको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । हाल १२ लाख यात्रुलाई सेवा दिने गरेको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।
केबलकार हाताभित्र नै सुविधासम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको प्रालिले जनाएको छ । रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुने केबलकारले जनाएको छ ।
शनिबार २६औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको मनकामना दर्शन प्रालिले आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाएको छ । २६औं वार्षिकोत्सवका उपलक्ष्यमा नेपालकै पहिलो केबलकारका स्रष्टा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको योगदानबारे चर्चा गरिएको थियो । विज्ञप्तिका अनुसार २६ वर्ष पुगिसकेको केबलकारको एनलग प्रविधिको मर्मतसम्भार गर्नुका साथै उक्त प्रविधिलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ ।
लक्ष्मणबाबु श्रेष्ठकै पालादेखि सामाजिक व्यावसायिक उत्तरदायी नीति अँगाल्दै यसअन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्नवर्ग जातिहरूलाई सहयोग गर्दै आएको मनकामना दर्शन प्रालिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सामाजिक व्यावसायिक उत्तरदायी नीतिअनुसार केबलकार टिकट बिक्रीबाट हुने आम्दानीको कुल रकममध्ये १ प्रतिशत/१ प्रतिशतका दरले गोरखाको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि बर्सेनि सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।