काठमाडौं। गरिमा विकास बैंकले १८औं वार्षिकोत्सव अवसरमा आज आयोजना गरेको गरिमा रोड रेस प्रतिस्पर्धा सम्पन्न भएको छ। कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको रोड रेसको खुलातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ प्रतियोगिता आयोजना गरिएको थियो।
खुलातर्फको १० किमि दूरी प्रतिस्पर्धा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बूढानीलकण्ठ नगरपालिकाको गणेशचोक पुगेर पुनः लाजिम्पाटमा समापन भएको थियो। यस्तै, कर्पोरेटतर्फको ५ किमि दूरीको स्पर्धा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट सुरु भई नारायणगोपालचोक पुगेर पुनः लाजिम्पाटमै समापन भएको थियो।
६५० बढी धावक सहभागी प्रतियोगिताका हरेक विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचांै स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
उक्त अवसरमा बैंक सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठले स्वागत मन्तव्य, प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले कार्यक्रम उद्देश्य र बैंक अध्यक्ष श्यामप्रसाद बस्यालले दौड आयोजनाले स्वस्थ जीवनशैली निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बैंकले गरेको ५ किमि र १० किमि दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए।
बैंकले मिति २०८१ कात्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप फुटबल फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई बंगलादेशको टिमविरुद्ध प्रतिगोल १ लाखको दरले नगद पुरस्कार दिने घोषणा गरेअनुसार उक्त खेलमा १ गोल गरेकाले १ लाख नगद पुरस्कार राष्ट्रिय महिला फुटबल टिम प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो।
बैंकले वार्षिकोत्सव अवसरमा देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरिएको जनाएको छ।