बर्दिया। चार अर्ब लगानीमा बर्दियाको गुलरियामा लुम्बिनी सेरामिक्स सञ्चालनमा आएको छ। टायलमा आत्मनिर्भर बन्ने र विदेशी टायललाई विस्थापन गर्ने उद्धेश्यका साथ असोज १ गतेबाट लेमिनार टायल उत्पादन थालेको हो। योसँगै लुम्बिनी सेरामिक्स भिट्रिफाइड टायल उत्पादन गर्ने पहिलो उद्योग बनेको छ।
लुम्बिनी सेरामिक्स लिमिटेडका निर्देशक अभिनव चुरिवालले उद्योगमा दैनिक १ लाख ४० हजार स्क्वायर फिट टायल उत्पादन गर्दै आएको बताए। ‘हाल सञ्चालनमा रहेका मध्येको सबैभन्दा ठूलो उद्योगनै लुम्बिनी सेरामिक्स हो,’ निर्देशक चुरिवालले भने, ‘नेपाली बजारमा स्वदेशी उत्पादन प्रयोग गर्नेहरुको संख्या विस्तारै बढीरहेको छ, अव अझै बढ्छ।
विश्वबजारमा लोकप्रिय बनेको भिट्रिफाइड टायलले विस्तारै नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन लागेको उनको भनाइ छ। अहिले उद्योगले ३ वटा साइजमा टायल उत्पादन गरिरहेको र अवको केहि महिना भित्र २ वटा साइजमा उत्पादन सुरु गर्ने तयारी गरेको छ। हाल १६/१६, २/२ र २/४ साइजको टायल उत्पादन भैरहेको छ। यी टायलहरु घर भित्र र बाहिर पार्किङ क्षेत्रमा समेत प्रयोग गर्न उपयुक्त रहेको जनाएको छ।
उद्योगका लागि आवश्यक माटो भारतको राजस्थानबाट ल्याउने गरिएको छ। भिट्रिफाइड टायलका लागि आवश्यक पर्ने माटो नेपालमा नरहेकोले भारतको राजस्थानबाट ल्याएर उत्पादन गरिरहेको जनाएको छ। ‘नेपालमा हालसम्म त्यो खालको माटो नभेटिएपनि आवश्यक खनिज पदार्थ भने डडेलधुरामा भेटिएको छ’, निर्देशक चुरिवालले भने, ‘अहिलेसम्म उत्खनन सुरु गरेका छैनौं, अव तयारी गर्छौ।’
हाल सञ्चालनमा रहेका उद्योगहरुले नेपालका लागि आवश्यक पर्ने टायल उत्पादन गर्न सक्षम रहेको बताउदै नयाँ बजारको खोजी गरिरहन नपर्ने कम्पनीको बुझाइ छ।
‘उपभोक्तालाई नेपाली उत्पादन प्रति विश्वास जगाउन सके हामीलाई बाहिर पठाउनुपर्ने आवश्यकता नै हुँदैन,’ निर्देशक चुरिवालले भने,‘नेपाली उत्पादन आएसँगै बजारमा मूल्य घट्ने र भारतबाट आउनेहरु विस्तारै विस्थापन हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ।’ भारतबाट आउने भन्दा यहाँ उत्पादन हुने टायलमा १५ देखि २० प्रतिशत मूल्य सस्तो पर्ने उनको दाबी छ।
चलिरहेको बजारमा आयातलाई रोकेर यहाँ उत्पादन हुने टायलले बजार लिए मात्र पनि पुग्छ। अहिले भारतबाट बार्षिक १५ देखि १७ अर्बको टायल आयात हुँदै आएकोमा पछिल्लो दुई वर्षदेखि केहि घटेको छ। अहिले पनि १२ देखि १४ अर्बको टायल भारतबाटै आयात भैरहेको जनाएको छ।
साढे १२ बिगा क्षेत्रफलमा फैलिएको उद्योगमा प्रत्यक्ष रुपमा ३ सय जना भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन्। उद्योगले दैनिक ३० देखि ३५ हजार युनिट बिजुली खपत गरिरहेको छ। सहरीकरणको प्रवृत्तिका कारण सेरामिक्स टायलको माग अधिक रहेको छ।
लुम्बिनी सेरामिक्सले गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आईएसओ ९००१ः२०१५, वातावरणीय व्यवस्थापन प्रणालीका लागि आईएसओ १४००१ः२०१५ र व्यावसायिक स्वास्थ्य एवं सुरक्षा व्यवस्थापन प्रणालीका लागि आईएसओ ४५००१ः२०१८ गरी तीन विधामा प्रमाणपत्र पाइसकेको छ। लुम्बिनी सेरामिक्सको उत्पादन ८० देखि २०० रुपैयाँ प्रति स्क्वायर फिटमा विक्रि भैरहेको जनाएको छ।
लुम्बिनी सेरामिक्स २०१९ मा स्थापना भएको थियो। प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न लुम्बिनी २०२३ मा पब्लिक लिमिटेडमा परिणत भैसकेको छ।