कोरोना संक्रमण पहिला र अहिलेको पर्यटन व्यवसायको अवस्था एवं आवश्यकतामा धेरै ठूलो खाडल छ। हामी नेपालमा पर्यटक आगमन वा उनीहरुले खर्च गर्ने सम्भावना थियो, त्योअनुसार भयो कि भएन भन्दैनौं। अघिल्लो वर्ष भएको खर्चसँग पछिल्लो वर्षलाई तुलना गर्छौं। गत वर्ष १ मिलियन थियो र अहिले ११ लाख आयो भने १० प्रतिशत बढेको कुरा गर्छौं। तर, वास्तविकता त्यो होइन। नेपालको पर्यटन क्षेत्रमा ५ मिलियन ठूलो कुरा होइन। हामीले धार्मिक क्षेत्रको प्रचार ग¥यौंं भने ५ मिलियन भित्र्याउन सकिन्छ। पशुपतिनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, लुम्बिनी आदिबाटै त्यो सम्भव छ। त्यो आम्दानी पनि छिमेकी देशबाट सम्भव छ। धार्मिकबाहेक नेपालको प्रकृति र सम्पदा बेग्लै छन्।
नेपालको पर्यटनमा निजी क्षेत्रले जोखिम मोलेर लगानी गरेकै कारण केही वर्षमा होटलमा यति धेरै लगानी भित्रिएको हो। पर्यटन व्यवसायमा नवप्रवेशी भए पनि मेरो अनुभवमा लगानीअनुसारको प्रतिफल थोरै छ। होटलियर सम्मेलनमा आउनुभएका दुवै मन्त्रीले ‘पैसा छ, अवसर पनि छ तर, लगानी किन आएन भन्नुभयो। लगानी नभएको होइन, पर्यटनका सम्भावित क्षेत्रको बजारीकरण अर्थात् प्रचार–प्रसार नभएको हो। पर्यटन क्षेत्रको बजारीकरण गर्न सकिए नेपालमा पर्यटन व्यवसायको सम्भावना असाध्य राम्रो छ।
कुनै पनि अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा आउँछन् भने उनीहरुलाई लगानी जोखिम कम र ब्रान्ड जोखिम धेरै हुन्छ। अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल आउनु भनेको चेनको विश्वव्यापीकरण गर्नु पनि हो। उनीहरु नेपालमा अवसर देखेरै आउने हुन्। मैले ‘म्यारियट’ ल्याएको ८ वर्ष पहिला हो। त्यो बेला करिब २५ वर्षपछि नेपालमा नयाँ अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिएको थियो। त्यसबेला सम्भावना कम थियो। अहिले यातायातको पहुँच, हवाई उडान बढ्दैछन्। त्यस कारण अवसर देखेरै अन्तर्राष्ट्रिय ब्रान्ड नेपाल आउँछन्।
विगत ७÷८ वर्षमा १५÷२० वटा ब्रान्ड नेपाल आइसके वा पाइप लाइनमा होलान्, जुन सकारात्मक हो किनभने चेन होटलले प्रचार–प्रसार आफ्नो नभएर नेपालका पर्यटकीय गन्तव्यको गर्ने हुन्। त्यस कारण चेन होटलको फाइदा धेरै छ। तर, सरकारी नीति नियमले केही चेन होटल नेपालमा सकरात्मक छैनन्। त्यस्ता नीतिमा सुधार गर्नुपर्छ। चेन होटलका धेरै फाइदा छन्, स्ट्यान्डर्ड छ। कुनै व्यक्ति होटलको ब्रान्ड हेरेर पनि नेपाल आउन सक्छ। पर्यटकले त्यो ठाउँ जाऔं। त्यहाँ, ¥याडिसन, म्यारियट छ भन्ने सोचेको हुन सम्छ। ब्रान्ड खोज्नुका पछाडि सुरक्षा, ‘हाइजिन’, सम्झौता हुँदैन भन्ने विश्वासले हुन्छ।
व्यवसायीले लगानी गर्दैमा सरकारको नीति उपयुक्त भएन भने लगानी आउने सम्भावना कम हुँदैन र आएको पनि फर्किएर जान्छ। अहिले चेन होटलले भोगिरहेको मुख्य समस्या रोयल्टी ५ प्रतिशतभन्दा बढी लैजान नपाउनु हो। होटल र चेनको एक किसिमको ‘बिजनेस’ समझदारी हुन्छ। कुनै पनि चेन होटलले आफ्नो प्यारेन्टिङ (अभिभावक) होटललाई पैसा पठाउँदा बैंकिङ माध्यम प्रयोग गर्छ। मेरो विचारमा यो सरकारको सरोकार र टाउको दुखाइको विषय होइन। कुनै पनि उद्यमी वा होटल सञ्चालकले आफ्नो बढी पैसा लैजान कसरी दिन्छ? सकेसम्म कसिलो गरी उनीहरुले थोरै पैसा लैजाने सम्झौता गरेका हुन्छौं।
रोयल्टी लैजाने दुई तरिका हुन्छन्। एउटा, व्यवस्थापन र अर्को फ्रेन्चाइज। फ्रेन्चाइजमा ५ प्रतिशत नपुग्ला तर, व्यवस्थापन होटलमा दुई पक्षको वार्ताका आधारमा ८ देखि १२ प्रतिशतसम्म हुन्छ। यस्तो विषयमा सरकारले जे चाहिन्छ, आफैं हेरेर गर भन्नुपर्छ। तर, पैसा पठाउने बेला सीधै अन्तर्राष्ट्रिय ब्रान्डलाई पठाएको छ भने केही सर्त राख्नु उपयुक्त हुन्छ।
हामीले धेरै वर्षदेखि उद्योगको कुरा उठाइरहका छौं। होटल उद्योग विभागमा दर्ता हुन्छन् तर, उद्योगसरह मान्यता पाएका छैनन्। उद्योगको सुविधा पाएसँगै आयकरमा सहुलियत हुन्छ। बिजुलीको शुल्क सस्तो हुन्छ। मेरा अरु उद्योग भएकाले यस विषयमा जानकारी बाँडेको हुँ। उद्योगले घरमा प्रयोग गरेसरह शुल्क तिरेर बिजुली प्रयोग गर्छन्। सरकारले होटललाई प्राथमिकता दिएको व्यवसाय भनेको छ तर, सुविधा छैन। नेपालको आफ्नो मौलिक उत्पादन भनेको हाइड्रोपावर र टुरिजम हो। होटललाई अन्तर्राष्ट्रिय क्षेत्रमा जान सुविधा पनि छैन।
आलोचना गर्न त नमिल्ने हो। तर, नवप्रवेशीको नाताले विगत ४÷५ वर्षदेखि नेपाल पर्यटन बोर्डको काम धेरै प्रभावकारी देखेको छैन। बोर्डको काम नेपालका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने, नेपाल आएका पर्यटकका समस्या समाधान गर्ने हो। आन्तरिक पर्यटकका समस्या होलान्, भारतीय पर्यटकले गाडी ल्याएको भए पार्किङ समस्या होला, शौचालय राम्रा छैनन्। यस्ता समस्या व्यवस्थित गर्ने हो भने पर्यटक आगमन बढाउन सकिन्छ।
नेपाल आउने अधिकांश पर्यटक थाइल्यान्ड, टर्की जाने हुन्छन्। अर्थात्, उनीहरुले ट्रान्जिटको रुपमा नेपाललाई लिन्छन्। त्यसरी ट्रान्जिटको यात्रामा २÷३ घन्टा हवाई जाम वा अन्य कारणले पर्यटक नेपालमा रोकिन्छन्। त्यो विषय विमानस्थल कार्यालय, नेपाल एयरलायन्स वा नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुधार गर्न आवश्यक छ।
नेपालमा जहाज ‘टेकअफ’ संसारका विमास्थलमा धेरै समय लगाउनेभित्र पर्छ। धेरै देशमा जहाज टेकअफ गर्न दुई÷ अढाई मिनेट मात्रै लाग्छ तर, नेपालमा ५ मिनेट लाग्छ। त्यो व्यवस्थापन गर्न नसकेरै भएको हो। नेपालमा पहिला आन्तरिक उडान मात्रै ‘डिले’ हुन्थे, अहिले अन्तर्राष्ट्रिय पनि त्यस्तै भइसके। हामी धेरै पछि छौं। यसलाई सुधार गर्नुपर्छ।