क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन्। उनले मंसिर ३ गतेबाट लागू हुने गरी राजीनामा दिएको योजना आयोगले जनाएको छ। उनी मंसिर २ मा राष्ट्रिय योजना आयोगमा हाजिर भएका थिए। उनले कात्तिक १४ गते भ्रष्टाचार मुद्दामा सफाइ पाएका थिए।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७÷३७ मेगावाटका तीनवटा युनिटमध्ये एउटा युनिटबाट मंसिर ५ गतेदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरिएको छ। आयोजनाले मंसिर ५ गते परीक्षणका रुपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरेको थियो।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुर निवासबाट मंसिर ४ गते पक्राउ गरेको हो। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सन्जालमार्फत अफवाह फैलाएको आरोप छ। उनीमाथि साइबर अपराध गरेको आरोपमा जिल्ला अदालतले थप छानबिन गर्न प्रहरीलाई समय थपेको छ।
नेपालले पहिलो पटक ‘कन्ट्री रेटिङ’ पाएको छ। बेलायतको फिच रेटिङ्स कम्पनीले गरेको रेटिङअनुसार नेपालले डबल बी माइनस प्राप्त गरेको छ। यो भनेको बंगलादेशभन्दामाथि र साउथ अफ्रिका बराबरको हो। बंगलादेशले बी प्लस पाएको छ। कुनै मुलुकलाई अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र बन्ड जारी गरी ऋण उठाउन क्रेडिट रेटिङ अनिवार्य रुपमा चाहिन्छ। मुलुकले विदेशी लगानी आकर्षित गर्न पनि रेटिङ गराउँछन्।
नेपाल राष्ट्र बैंकले ओमानी रियाल कारोबार सुरु गरेको छ। केन्द्रीय बैंकले मंसिर ७ गते सूचना जारी गर्दै ओमानी रियाललाई विदेशी विनिमय कारोबारमा समावेश गरेको हो। हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएकमा ओमानी रियाल थपिएपछि यो संख्या २२ पुगेको छ। ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुनेछ।
नेपाल र जर्मन सरकारबीच नेपालमा विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान सम्झौतामा हस्ताक्षर भएको छ। मंसिर ४ गते सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जर्मनी सरकारले नेपाललाई अनुदान सहायतास्वरूप १० मिलियन युरो अर्थात् १ अर्ब ४६ करोड रुपैयाँ उपलब्ध गराउने सम्झौता भएकाे हाे। सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक समन्वय सहयोग महाशाखाका सहसचिव धनीराम शर्मा र नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले हस्ताक्षर गरे।
यस साता सेयर बजारमा ६८ अंकको गिरावट आएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार २७४८.७८ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साताको चार कारोबार दिनमा दुई दिन घटेर दुई दिन बढ्दा ६८ अंकको गिरावटका साथ २६८०.४४ बिन्दुमा रोकिएको छ। गत साता भने नेप्से ७३.२७ अंकले बढेर २७४८ बिन्दुमा रोकिएको थियो। यस साता नेप्सेमा कुल ३६ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता भने नेप्सेमा कुल ४६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
प्रहरीले रसुवामा करिब २ किलो सुनसहित गोसाइकुण्ड गाउँपालिका–३ ब्रिद्धिमका कर्मा सोनाम लामालाई पक्राउ गरेको छ। उनलाई रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट करिब २ किलो सुनसहित मंसिर ६ गते पक्राउ गरिएको रसुवा प्रहरीले जनाएको छ।
नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभाव र कालोबजारीबारे अध्ययन तथा अनुगमन गर्न पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेका अनुसार मंसिर ६ गते मन्त्रीस्तरीय निर्णयबाट सहसचिवको नेतृत्वमा कार्यदल गठन भएको हो। कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन्।