काठमाडौं। सरकारले धितोपत्र निष्कासन तथा बाँडफाँट (आठौं संशोधन) निर्देशिका २०८१ संशोधन गरेको छ। सरकारले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ लाई धितोपत्र सम्बन्धी ऐन २०६३ बमोजिम संशोधन गरेको हो। निर्देशिकाले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पीको सेयर निष्कासनसम्बन्धी नयाँ व्यवस्था गरेको छ।
संशाेधित निर्देशिकामा सेयर निष्कासन गर्दा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले नियमावलीमा भएको व्यवस्थाबमोजिम जारी पुँजीको १० प्रतिशतभन्दा कम र ४९ प्रतिशतभन्दा बढी नहुने गरी गैरआवासीय नेपालीका लागि मात्र सेयरको निष्कासन गर्नुपर्ने व्यवस्था छ। संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनी भन्नाले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनी सम्झनुपर्दछ।
निर्देशिकामा भएको व्यवस्थाअनुसार सेयर निष्कासनको लागि बिक्री खुला भएको अवधिमा भवितव्य वा अन्य कुनै कारणबाट स्वीकृत विवरणपत्रमा उल्लिखित विवरणमा तात्विक असर पर्ने गरी परिवर्तन भएमा सम्बन्धित सेयरको लागि आवेदन लिने कार्य स्थगन गरी त्यस्तो घटना र सोबाट परेको प्रभाव तथा परिवर्तन सम्बन्धी विवरण सम्बन्धित लगानीकर्ताको जानकारीको लागि निष्कासनकर्ता कम्पनी तथा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ र सो कुराको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने सेयरको दरखास्त खुला रहने अवधि कम्तीमा चार कार्य दिन हुनेछ। निष्काशन गरिएको सबै सेयर बिक्री नभएमा कम्पनीले त्यस्तो दरखास्त खुला भएको मितिले बढीमा १५ दिनका लागि सेयरको दरखास्त खुला राख्न सक्नेछ र सोको जानकारी बोर्डलाई दिनु पर्ने निर्देशिकामा उल्लेख छ।
निर्देशिकाले संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्कासन गरिने सेयरको बिक्री खुला गरिने दिनभन्दा कम्तीमा ७ कार्य दिन अगाडि सबैको जानकारीको लागि आव्हानपत्र राष्ट्रिय दैनिक पत्रिका र निष्कासनकर्ता कम्पनीको वेबसाइटमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ भने त्यसको जानकारी बोर्डलाई गराउनु पर्ने पनि जनाएको छ।
प्रकाशन गरिने आव्हानपत्र वा निष्कासन सम्बन्धी कुनै सूचनाको बारेमा सो सूचना प्रकाशन गरिने मितिभन्दा कम्तीमा एक कार्य दिन अगाडि बोर्डलाई जानकारी गराउनु पर्नेछ। यस्तै, आवेदकले आवेदन साथ सम्बन्धित विदेशी मुलुकको नागरिकता वा राहदानी वा त्यस्तो विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र र गैरआवासीय नेपाली नागरिकता वा गैरआवासीय नेपाली परिचयपत्र पेस गर्नुपर्नेछ। गैरआवासीय नेपालीको लागि हितग्राही खाता खोल्दा निक्षेप सदस्यले विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्नेछ।
संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरको कारोबार गैरआवासीय नेपालीबीच मात्र हुनेछ। संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले निष्काशन गरेको सेयर बाडँफाँट भएको मितिले एक वर्षको अवधि पूरा नभई खरिद बिक्री गर्न नपाइने पनि निर्देशिकामा उल्लेख छ। ‘संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको सेयरधनीको हकप्रद सेयरको हक हस्तान्तरण गर्नुपर्ने भएमा गैरआवासीय नेपालीबिच मात्र हक हस्तान्तरण गर्नु पर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘हक हस्तान्तरण गर्दा सेयरको खरिद बिक्री बन्देज अवधि (लकइन पिरियड) नसकिएको भएमा हस्तान्तरण भई जाने सेयर समेत लकइनमा नै रहनेछ।’
निर्देशिकामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको लगानी, लेखांकन, भुक्तानी र रकम फिर्ता (रिप्याट्रियसन)सम्बन्धी व्यवस्था विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७, औद्योगिक व्यवसाय ऐन, २०७६, नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ र नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिम हुने उल्लेख छ।